बर्बरिक- मिथक, मदन र वामपन्थ

नम्रता थापा्

मिथक
महाभारत पूर्वीय दर्शनको एक महत्त्वपूर्ण, रोचक र रोमाञ्चकारी कथा हो । त्यसै कथाभित्र पाण्डवपक्षका भीम नामक एक सशक्त पात्र छन् । पाँच पाण्डवमध्ये शारीरिक रूपले बलिष्ठ व्यक्ति हुन् भीम । उनै भीमका राक्षसी नारी हिडिम्बाबाट छोरा घटोत्चकको जन्म भयो । तिनै घटोत्चक र मोरवी (कामकन्या) बाट जन्मिएका एक कुशल युद्धकौशल व्यक्ति हुन् बर्बरिक । बर्बरिकले भगवान् शिवबाट अमोघ शक्ति प्राप्त गरेका थिए, जससँग असाधारण शक्ति भएका तीनवटा वाण थिए । ती वाणहरूमध्ये एकले शत्रुको पहिचान गर्थ्यो, दोस्रोले पहिचान भएका शत्रुपक्षलाई नष्ट गर्थ्यो र तेस्रोले मित्रपक्षलाई जोगाउँथ्यो ।
जब महाभारत युद्धका डिजाइनर भगवान् श्रीकृष्णले बर्बरिकको क्षमता पहिचान गरे । बर्बरिकको युद्धकौशलता युद्धमा निस्कियो भने युद्ध लम्बिने कुनै गुञ्जायस देखेनन् । साथै, श्रीकृष्णले बर्बरिकलाई युद्धबाट टाढै राख्नुपर्नाको अर्को खास कारण पनि छ, त्यो हो- बर्बरिकले शिवसँग दीक्षित हुने क्रममा आफू सधैँ कमजोरको पक्षबाट मात्र युद्ध लड्ने प्रतिज्ञा गर्नु ।
यसरी बर्बरिकले युद्धमा भाग लिएमा युद्धको सन्तुलन बिग्रने र आफूले चाहेअनुसारको परिणाम निकाल्न कठिन हुने स्थितिको आकलन गरी श्रीकृष्णले बर्बरिकलाई अनेक तर्क र परिबन्दमा पारेर युद्धमा भाग नलिने तर युद्धको अवलोकन गर्न भने सक्ने बाचाबन्धनमा बाँधे । यसरी युद्ध हेर्नलाई पनि सिङ्गो शरीरले नपाउने र त्याग गरी शिर छेदन गर्नुपर्ने र त्यो शिरले कुनै अग्लो पहाडबाट साक्षीभावका साथ हेर्न सक्ने व्यवस्था मिलाए । त्यसपछि शक्तिशाली बर्बरिक युद्धको भाग नभई सिर्फ साक्षी मात्र बन्न पुगे । त्यसै बर्बरिकलाई नेपालमा यलम्बर र आकाश देवता भनिन्छ भने भारतमा खाटू श्यामजीको नामले पूजा गरिन्छ । यसरी बर्बरिकले आफ्नो वर्गपक्षधरता सधैँ निरीह एवं कमजोरको पक्षमा रहने बताएसँगै कमजोर पक्षको न्यायको सुनिश्चितता गरेको पाइन्छ ।
मदन
महाभारतका तिनै मिथकीय पात्र बर्बरिकको नाम नेपाली प्रजातान्त्रिक एवं वामपन्थी आन्दोलनमा जोडिएको छ । २००७ सालमा स्थापित प्रजातन्त्रलाई २०१७ सालमा निर्वाचित सरकारलाई अपदस्थ गर्दै राजा महेन्द्रले निमोठिदिएँसँगै देशमा कमजोर वर्गको पक्ष लिएर लड्ने शक्तिको सशक्त आवश्यकता पर्न थाल्यो ।
नेपाली कांग्रेस, नेपाल कम्युनिस्ट पार्टीहरूले आफूलाई सम्हाल्दै राजाको निरंकुश कदमको प्रतिरोध गरिरहे । तर, ठ्याक्कै जनताकै बीचमा बसेर जनतासँग मिठोमसिनो खाएर जनआवाज उठाउन भने तत्कालीन नेतृत्व चुकिरहेको थियो । तत् समयका नाम चलेका नेताहरू कोही नेपालका विभिन्न जेलमा त कोही भारत प्रवासमा रहनुभएको थियो । जनतासँग संवादको क्रम टुटेको थियो । यसै परिस्थितिमा झापा विद्रोहले जनताका बीचमै गतिविधि हुने कुरालाई सशक्त रूपमा स्थापित गर्‍यो ।
युवाहरूले किसानका समस्यामा केन्द्रित रहेर २०२८ सालमा झापा विद्रोहको उठान गरे । बीस वर्षभन्दा मुनिका जुझारु युवाहरूले बहस गर्दै समाजलाई तरंगित बनाए । सोही आन्दोलनबाट भारतको बनारसमा रहेका वामपन्थी विचारसँग नजिक रहेका युवाहरूमा पनि वामपन्थी नेतृत्वमाथि प्रश्न गर्न झकझक्यायो । सोही क्रममा मोदनाथ प्रश्रित, जीवराज आश्रित, मदनकुमार भण्डारीलगायतका युवाहरूले पुष्पलालसँगको सम्बन्धलाई तोडेर झापा विद्रोहको समूहसँग संवाद अगाडि बढाए ।
यसरी झापा क्षेत्रका युवाहरू र बनारसमा रहेका युवाहरूको जोसको मिलन भयो र २०३५ सालमा नेपाल कम्युनिस्ट पार्टी (मार्क्सवादी लेनिनवादी) को गठन भयो, जसमा चन्द्रप्रकाश (सीपी) मैनाली, राधाकृष्ण मैनाली, माधवकुमार नेपाल, मोदनाथ प्रश्रित, जीवराज आश्रित, मदनकुमार भण्डारी, बामदेव गौतमजस्ता युवाहरू सामेल थिए ।
केपी शर्मा ओली भने २०३० सालमै जेल परिसकेको पृष्ठभूमिका भएकाले भौतिक उपस्थिति रहन सक्ने कुरै भएन । यो समूहको विशेषता भनेको यसको मुख्य नेतृत्व कहिल्यै पनि भारत प्रवासमा बसेनन् । छिटफुट रूपमा छोटोछोटो समय भारत गए पनि यसले आफ्नो सेल्टरु जनताकै बस्तीबीचमा स्थापित गर्‍यो, जसले गर्दा २०१७ सालपछि राजनीतिक दलहरू र जनताबीचको टुटेको सम्बन्ध र सम्पर्कलाई पुनः स्थापित गर्‍यो ।
व्यक्तिहत्याबाट सुरु भएको झापा विद्रोहमा बिस्तारै सो लाइनु ठीक होइन कि भन्ने बहसले स्थान लिँदै गयो । चालीसको दशक नपुग्दै यसले आफ्नो बाटो परिवर्तन गरी जनआन्दोलन, जनसंघर्षको बाटो तय गर्‍यो । यसरी तत्कालीन नेकपा (माले)लाई जनसंघर्षको लाइनुमा हिँडाउने भूमिकाको अग्रस्थानमा थिए तिनै बर्बरिक याने कि मदनकुमार भण्डारी । बनारसबाट राजनीतिमा पूर्णकालीन बन्दै पूर्वी नेपालको जिम्मेवारीमा आएका मदन जनताका बीचमा काम गर्ने क्रममा सागर, श्वेतशार्दूल, बर्बरिकलगायतका उपनामले स्थापित भए ।
मदनले पूर्वी नेपालको ताप्लेजुङ जिल्लामा जन्मिएर प्रारम्भिक शिक्षा गाउँमै आरम्भ गरे । परिवार बसाइँ सरेर मोरङमा झरेसँगै मदनको माध्यमिक तहको पढाइ पनि सोही ठाउँमा भयो । सोपश्चात् जेठो दाजु अध्ययनका लागि बनारसमा रहेकाले मदन पनि थप अध्ययनका लागि बनारस गएको पाइन्छ । सानैदेखि पढ्नमा तीक्ष्ण रहेका मदन क्याम्पस जीवनमा पनि पढाइका अलावा पौडी, कविता लेखन, दर्शन, भाषाको क्षेत्रमा पनि अब्बल नै रहेको पाइन्छ ।
मदनमा सानैदेखि आफ्ना कुराहरू प्रस्ट रूपमा राख्ने, नडराउने, स्थितिको सामना गर्ने, साथीहरूसँग बहस गर्ने तर व्यक्तिगत सम्बन्ध एकदमै सहज राख्ने युनिकु विशेषता एवं बानी देखिन्छ । घरमा बाबुआमाको सल्लाहदेखि बनारसमा सांस्कृतिक समूहमा रहँदासम्म भनौँ वा पुष्पलालसँगको अलग हुने क्षणदेखि जनताको बहुदलीय जनवादलाई स्थापित गर्ने चरणहुँदै सीपी मैनालीलाई दलको उपनेता बनाउने क्षणसम्म उनी विचारमा जति दृढ देखिन्छन्, व्यवहारमा पनि त्यत्ति नै लचक पाइन्छन् । उनले जनतासँगको संवाद र जनताको शक्तिलाई एकीकृत रूपमा परिचालन गर्ने विषयमा सधैँ अर्जुनदृष्टि राखेको पाइन्छ ।
त्यसो त २०४६ सालमा सिरहामा सम्पन्न भएको नेकपा (माले) को चौथो महाधिवेशनमा कम्युनिस्ट आन्दोलनलाई प्रजातन्त्रीकरण गर्ने विषयलाई ुइनडोर्सु गराएर उनले नयाँ बहस छेडिदिए । सिद्धान्तका लागि जीवन होइन कि जीवनका लागि सिद्धान्त हुनुपर्ने भन्दै कम्युनिस्ट पार्टीलाई प्रजातान्त्रिक आचरण र संरचनामा ढाल्ने विचार अघि सारे । यो चानचुने हिम्मतले हुने काम थिएन । उनीमाथि कम्युनिस्टहरूले परम्पराविपरीत भयो भन्दै दक्षिणपन्थीुसम्मको आरोप लगाए पनि कत्ति विचलित नभई आफ्ना विचारहरूलाई निर्भयका साथ अगाडि बढाइरहे ।
२०४९ सालमा काठमाडौंमा भएको नेकपा (एमाले) को पाँचौँ महाधिवेशनबाट ुजनताको बहुदलीय जनवादु नामक विचारधारालाई अगाडि सार्दै पुँजीवादी व्यवस्थाभन्दा एक कदम अगाडि बढेर बहुदलीय व्यवस्था कसरी जनताको पक्षमा हुन सक्छ भन्ने विषयमा आफ्ना कार्यक्रम र नीतिहरू जनमानससमक्ष पस्किए ।
मदनको भौतिक अस्तित्व समाप्त भए पनि उनले रोपेको जनताको बहुदलीय जनवादले झन्‌पछि झन् श्रेष्ठता कायम गर्दै परिवर्तनहरूलाई मार्गनिर्देश गर्दै छ । नेपाली जनताले मदनलाई सम्झिरहनेछन् । जनताको बहुदलीय जनवाद साक्षी मात्र नभई नेपालको प्रजातन्त्र र वामपन्थी आन्दोलनलाई यस विचारधाराले नेतृत्व गरिरहेछ ।
२०४८ सालमा भएको संसदीय निर्वाचनमा राजधानी काठमाडौंका दुईवटा निर्वाचन क्षेत्रबाट निर्वाचन जितेपछि उनको नाम फैलिनु स्वाभाविकै भयो । त्यसैमा अन्तरिम सरकारका प्रधानमन्त्री एवं तत्कालीन नेपाली कांग्रेसका सभापति कृष्णप्रसाद भट्टराईलाई पराजित गरेपछि त उनको झन् विशेष चर्चा भयो, जसलाई अमेरिकन म्यागजिन न्युजविकले नेपाल जहाँ कार्लमार्क्स जीवित छन् भन्ने शीर्षकमा उनको अन्तर्वार्ता प्रकाशित गर्‍यो । पार्टी, संसद, सडकलाई जोड्न खोज्दै गर्दा ३ जेठ २०५० मा चितवनको दासढुंगामा रहस्यमयी सडक दुर्घटनामा मदनको निधन भयो ।
वामपन्थ
विशेष गरी वामपन्थ भन्नाले सामाजिक, राजनीतिक र आर्थिक दृष्टिले पछि पारिएका एवं परेका समुदायको पक्षमा आवाज उठाउने र उनीहरूको पिरमर्कालाई सम्बोधन गर्ने राजनीतिक विचारधारालाई बुझिन्छ । वामपन्थको उदय सन् १७८९ मा सम्पन्न फ्रान्सेली क्रान्तिपछि भएको थियो । उक्त क्रान्तिपश्चात् निर्वाचित संसदमा परम्परावादी शक्तिहरू दायाँपट्टी र जनताको पक्षमा बोल्नेहरू बायाँपट्टि बस्ने गर्दथे । सोही प्रचलन नै कालान्तरमा वामपन्थ हुन पुग्यो । उक्त वामपन्थलाई सन् १८४८ मा कार्लमार्क्स र फ्रेडरिक एंगेल्सले कम्युनिस्ट मेनिफेस्टो प्रकाशित गरी त्यसमा वर्गसंघर्ष, श्रमिकहरूको मुक्ति, निजी सम्पत्तिको अन्त्य र उत्पादनका साधनहरूमा श्रमिकहरूको नियन्त्रण हुनेजस्ता पक्षहरूलाई समेटेर समृद्ध तुल्याए, जसबाट समकालीन संसारमा कार्लमार्क्सको असाधारण योगदान स्थापित हुन गयो ।
कतिपय पश्चिमा पुँजीवादी देशहरूले समेत तत्कालीन अवस्थामा वामपन्थी आन्दोलनले उठाएका सामाजिक सुरक्षा, लैङ्गिक समानता, श्रमिकको अधिकारको संरक्षण, महिलालाई मतदानको अधिकारजस्ता विषयहरूलाई सम्बोधन गरी व्यवस्था एवं प्रणालीको सम्भार र संरक्षण गरे । या भनौँ पुँजीवादले आफूलाई अपडेटेड भर्सनु मा पेस गर्‍यो । फलस्वरूप पुँजीवाद आज पनि निरन्तर अगाडि बढिरहेकै छ ।
नेपालमा पनि सामन्ती व्यवस्थाले जर्जर भएको समाजमा राणाहरूको जहाँनियाँ शासनले थप उकुसमुकुस बनाएको पृष्ठभूमिमा आमजनताका आवाजहरू मुखरित गर्ने क्रममा राजनीतिक दलहरूको स्थापना हुन गयो । प्रजापरिषद्‌बाट सुरु भएको राजनीतिक दल गठनको क्रम नेपाली कांग्रेस र नेपाल कम्युनिस्ट पार्टीसम्म पुग्यो । प्रारम्भमा राणा शासनको विरोधमा आवाज उठाउनेहरू समग्रमा एक प्रकारले वामपन्थ नै थिए । किनकि उनीहरूले संस्थापनको विपक्षमा र आमजनताको मनोभावनालाई प्रतिविम्बित गर्दथे । तर, कालक्रममा नेपाल कम्युनिस्ट पार्टीले भने दस्तावेज नै लेखेर जनताका दैनिक समस्या, राजनीतिक अधिकार र राष्ट्रियताका विषयमा आफ्ना विचारहरूलाई अगाडि सार्‍यो । बिस्तारै वामपन्थी आन्दोलन नेपाल कम्युनिस्ट पार्टीको वरिपरि गोलबन्द हुन पुग्यो ।
नेपाल कम्युनिस्ट पार्टीले किसानका समस्या, मोहीको समस्या, सुकुम्बासी समस्या, मजदुरहरूको ज्याला समस्या, न्यून वेतनधारी कर्मचारीका समस्या, महिलाका समस्या र राजनीतिक अधिकारका लागि सशक्त रूपमा आवाज उठायो । आन्दोलन अगाडि बढ्दै जाँदा २००७ सालमा प्रजातन्त्र स्थापना, २०४६ सालमा प्रजातन्त्रको पुनर्स्थापना र २०६२/६३ सालपछि स्थापित लोकतान्त्रिक गणतन्त्रसम्म आइपुग्दा जनताका एकसरो राजनीतिक समस्याहरूको समाधान भयो । तथापि जनजीविका र आर्थिक समस्यालगायतका पक्षमा भने मल्हम लाग्नुको साटो उकुच पल्टिरह्यो । जनताले ठोस रूपमा आज तिनै समस्याहरूको समाधान चाहेका छन् ।
आजको वामपन्थी आन्दोलनले सुशासन, रोजगारी, उद्यशीलता, कृषि उत्पादन वृद्धिका लागि मल, बिउ र सिँचाइको उचित व्यवस्था, शुद्ध पिउने पानीको व्यवस्था, बिचौलियाहरूको दबदबाको अन्त्य, बजार व्यवस्थाको सुनिश्चितता, हरेक प्रकारका ठगी (सहकारी, व्यापार आदि) को अन्त्य चाहेका छन् । जुनसुकै आवरणमा हुने एवं गरिने शोषण र दमनको मुक्ति नै एक्काईसौँ शताब्दीका जनताले चाहेको वास्तविक मुक्ति हो । समानता र सामाजिक न्यायलाई विश्वास योग्य तवरले लागू गर्दै श्रमिक, किसान र गरिबको पक्षमा राज्यव्यवस्था उभिनुपर्नेछ । वर्तमान बजार, उपभोग एवं आसेपासे पुँजीवादको चिरफार गर्दै यसका विकृति र शोषणबाट जनतालाई उन्मुक्ति दिँदै सार्वजनिक सेवाहरू- स्वास्थ्य र शिक्षालाई सर्वसुलभ गराई अधिकार, स्वतन्त्रता र समावेशीसहितको विश्वासिलो राजनीतिक प्रणाली नै जनताको चाहना हो ।
निष्कर्ष
राजा महेन्द्रको २०१७ सालको निरंकुश कदमपश्चात् नेपाल कम्युनिस्ट पार्टीमा व्यक्तित्वको टकराव र आधारभूत सैद्धान्तिक बेमेलले अनेक थरी विभाजन देखापर्न गयो । विभाजनले यतिसम्म तिक्तता बढायो कि नेताहरूले एकले अर्कोको अस्तित्व स्वीकार्ने स्थिति नै रहेन । लामो समय कम्युनिस्ट आन्दोलन यस्तै तुष र अहम्‌को परिबन्दबाट गुज्रँदै गयो । त्यस प्रवृत्तिलाई चिर्दै २०३५ सालमा विभिन्न स-साना कम्युनिस्ट घटकहरूबीच एकता हुँदै नेकपा (माले) को स्थापना भयो ।
सोही पृष्ठभूमिमा अग्रजहरूलाई सम्मान गर्दै सबै वामपन्थी शक्तिलाई एकीकृत गर्ने लक्ष्यसहित अगाडि बढेका मदन भण्डारीले २०४७ सालमा मनमोहन अधिकारी, सहाना प्रधान, भरतमोहन अधिकारी, सिद्धिलाल सिंहजस्ता अग्रज र आन्दोलनमा योगदान गरेका अग्रजहरूको पार्टी नेकपा (मार्क्सवादी) सँग पार्टी एकता गरेर मनमोहन अधिकारीलाई नेतृत्वमा स्वीकारे ।
निश्चित सिद्धान्तका लागि जीवन अर्पित गर्नुपर्छ भन्ने मान्यतालाई खण्डन गर्दै जीवनका लागि प्रगतिशील विचारसहितको सिद्धान्तले पक्षपोषण गर्नुपर्ने मान्यतालाई प्रख्यात बनाए । उनका भाषण, दस्तावेज, लेख र अन्तर्वार्ताहरूलाई नियाल्दा केन्द्र भागमा सधैँ जनता हुने गरेको पाइन्छ ।
जनतासँग सिधा साक्षात्कार गर्न रुचाउने मदनले जनताको बीचमा जाने कुरासँग कहिलै सम्झौता गरेनन् । २०४८ सालको संसदीय निर्वाचनमा पार्टीलाई भूमिगत राखेर मोर्चामार्फत निर्वाचनमा जाने कुरालाई ठाडै इन्कार गरेका उनले अन्ततः पार्टी खोपीको देवता हुन नसक्ने तर्क गर्दै यदि पार्टीलाई भूमिगत राखेर निर्वाचनमा जाने हो भने प्रजातान्त्रिक व्यवस्था लामो समय जान नसक्ने विश्लेषण गर्दै सिङ्गो पार्टी पंक्तिलाई निर्वाचनमा भाग लिन सहमत गराए ।
विचारमा सधैँ नयाँ खोजका पक्षपाती मदनले आफूलाई निरन्तर कमजोर वर्गको पक्षपातीका रूपमा उभ्याए । यसरी जुन दिनदेखि आफूलाई कमजोरको पक्षमा लड्ने निर्णय गरे, सायद त्यसै दिनदेखि मदनले भूमिगत नाम बर्बरिक राख्ने प्रण गरेका थिए कि ! जसरी बर्बरिकलाई कमजोरको पक्षमा उभिने प्रण गर्दाको परिणाम युद्धमा भाग लिनै नदिई अन्त्य गरियो, त्यसैगरी मदनको पनि जनताको पक्षमा उभिने चट्टानी अडानले गर्दा उनलाई पूर्ण जीवन जिउन दिइएन कि ? सायद मदनको त्यही प्रणबाट अत्तालिएका शक्तिहरूले कतै उनको हत्या गर्न गठजोड त गरेनन् ?
३ जेठ २०५० मा सदाका लागि मदनको भौतिक अस्तित्व समाप्त भए पनि उनले रोपेको जनताको बहुदलीय जनवादले झन्‌पछि झन् श्रेष्ठता कायम गर्दै परिवर्तनहरूलाई मार्गनिर्देश गर्दै छ । नेपाली जनताले मदनलाई सम्झिरहनेछन् । जनताको बहुदलीय जनवाद साक्षी मात्र नभई नेपालको प्रजातन्त्र र वामपन्थी आन्दोलनलाई यस विचारधाराले नेतृत्व गरिरहेछ । विचारको क्षेत्रमा असाधारण योगदान गर्नुभएका जननेता मदनकुमार भण्डारीप्रति श्रद्धासुमन ।–शिलापत्रबाट

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित