सार्थक ब्यूरो । बाहिरी मुलुकबाट श्रमका लागि पुगेका श्रमिकको स्वास्थ्योपचारको जिम्मेवारी रोजगारदाता राष्ट्रले लिनुपर्ने प्रस्ताव नेपालले विश्व स्वास्थ्य संगठन ९डब्ल्युएचओ० मा लैजाने तयारी गरेको छ।
उक्त प्रस्ताव नेपालले आगामी वर्ष हुने विश्व स्वास्थ्य संगठनअन्तर्गतको विश्व स्वास्थ्य सम्मेलनमा लैजाने तयारी गरेको हो। विश्व स्वास्थ्य सम्मेलनमा सहभागी भइ बिहीवार स्वदेश फर्किनुभएका स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले अन्य देशहरूमा कामदार पठाउने मुलुकहरूले आफ्ना नागरिकमाथि भएको स्वास्थ्य समस्याको विकराल स्थिति रहेको कुरालाई मध्यनजर गरी त्यसलाई हल गर्न आगामी वर्ष रोजगारदाता राष्ट्रमा श्रम गर्न गएका जुनसुकै देशका नागरिकहरूको स्वास्थ्यको सम्पूर्ण जिम्मा रोजगारदाता राष्ट्रले लिनुपर्ने प्रस्ताव नेपालले लैजाने गरी तयारी गरेको उल्लेख गरे।
यस पटकको सम्मेलनमा नै नेपालले त्यसबारे जानकारी गराएको बताए। प्रस्ताव डब्ल्युएचओबाट पास हुने स्थिति बन्दा जानु भन्दा पहिला, गइसकेपछि र फर्किँदा स्वास्थ्य सहयोग तथा स्वास्थ्य अवस्थाका बारेमा सम्बन्धित राष्ट्रले नै जानकारी गराउने स्थिति बन्ने बताए।
यसले उपचार नपाएर फर्किएर आउनुपरेको स्थिति, उपचार गर्दा खर्चको कारणले पूर्ण रुपमा उपचार नहुने स्थिति र खर्चका कारणले उपचार नहुने स्थिति एवं कतिपयलाई मृत्यु भएपछि शव सम्बन्धित देशमा पठाउन नसक्ने स्थिति तथा रोग बोकेर आउनुपर्ने स्थिति र बाध्यतालाई अन्त्य हुने बताए।
मन्त्री पौडेलले डब्ल्युएचओको नीतिगत विषयमा नेपालले अब सक्रिय भएर भाग लिन जरुरी रहेको बताए। नेपालले लैजान लागेको प्रस्ताव डब्ल्युएचओको धेरै सदस्य राष्ट्रहरूका निम्ति आवश्यक रहेको बताए। छिमेकी मुलुक भारतको प्रतिनिधिहरूसँग पनि छलफल भएको र स्वास्थ्यसँग सम्बन्धित विषयहरूमा दुई देश बीचमा सम्झौता गर्नेगरी अघि बढ्ने कुरा भएको बताए।
छिमेकी देश चीन, मित्रराष्ट्र बेलायत, बंगलादेश, श्रीलंका, माल्दिभ्स, नर्वे र स्विट्जरल्याण्ड लगायतका देशका प्रतिनिधिहरूसँग स्वास्थ्य क्षेत्रका लागि समझदारी गरिएको जानकारी दिनुभयो।


















Discussion about this post