सार्थक डेस्क।नेपालका ग्रामीण तथा दुर्गम भेगहरूमा यातायातको सुविधा सीमित हुनु स्वाभाविक हो। तर यही असुविधालाई आधार बनाएर यात्रुको सुरक्षामा लापरवाही गर्नु, विशेषतः क्षमताभन्दा बढी यात्रु राखेर सवारी साधन सञ्चालन गर्नु, गम्भीर अपराध मात्र होइन, जनजीवनसँग खेलवाड पनि हो।
बागलुङको ढोरपाटनमा भएको हालैको जिप दुर्घटनाले फेरि एकपटक हाम्रो ट्राफिक व्यवस्थापन र ग्रामीण यातायात सेवामा भएको कमजोरी उजागर गरिदिएको छ। उक्त दुर्घटनामा १६ जना मानिस एकै जिपमा सवार थिए, जसमा अहिले चार जनाले ज्यान गुमाइसकेका छन् र अरु धेरै घाइते छन्।
यो जिप कति यात्रुका लागि स्वीकृत थियो ? त्यसमा १६ जनाको भार सहने प्रविधि थियो ? यदि थिएन भने, यस्तो लापरवाही किन भयो ? यस्ता प्रश्नले उत्तर खोजिरहेका छन्।
दुर्घटनाको मुख्य कारणमध्ये एक सवारी साधनमा क्षमताभन्दा बढी यात्रु राख्नु हो। जिप, माइक्रोबस वा ट्रक कुनै पनि सवारीसाधन आफ्नो वहन क्षमता अनुसार डिजाइन गरिएको हुन्छ। गाडीको ब्रेक, सस्पेन्सन, टायर, इन्जिन सबैले एक सीमासम्मको भारमात्र सहन सक्छ। जब सो सीमा पार हुन्छ, सन्तुलन गुमिन्छ, ब्रेकले काम गर्दैन, स्टेयरिङ नियन्त्रण बाहिर जान सक्छ। र, परिणाम— ज्यान जाने दुर्घटना।
ग्रामीण भेगका चालक तथा सवारी सञ्चालकहरूले दैनिक यात्रु बोक्दै आइरहेका छन्। तर उनीहरूको व्यवसायिकताभन्दा माथि यात्रुको ज्यान हुन्छ भन्ने चेतनाको खाँचो देखिन्छ। यसरी ज्यानको जोखीममा परेर यात्रा गर्नु न यात्रुको गल्ती मात्र हो, न चालकको मात्र। यो सरकार, ट्राफिक प्रहरी, सवारी व्यवसायी सबैको सामूहिक असफलता हो।
हिजोको दुर्घटनाले चार घर शोकमग्न बनायो। भोलि अर्को गाडीले फेरी चार जना लान सक्छ, यदि चेतना र नियमप्रति प्रतिबद्धता आउँदैन भने।
अब पनि सरकारले ग्रामीण भेगका सवारी साधनहरूमा नियमित निगरानी नगर्ने हो भने, ट्राफिक नियम कार्यान्वयन नगर्ने हो भने, र यात्रुले पनि आफूलाई सुरक्षित बनाउने चासो नदेखाउने हो भने यस्ता दुर्घटनाहरू सामान्यजस्तै हुँदै जान्छन्।
त्यसैले अब ढिलाइ नगरौँ—क्षमताभन्दा बढी यात्रु नराख्ने ।ट्राफिक प्रहरीले गाउँ–शहरमा निगरानी बढाउने ।सवारी चालकलाई तालिम र चेतना दिने ।यात्रुले पनि सजग भएर यात्रा गर्ने ।
मानव ज्यान सबैभन्दा ठूलो मूल्य हो। एउटा सिट जोगाउन, केही पैसा बचाउन वा अफ्ठ्यारो ठाउँ पुग्ने हतारमा कसैको ज्यान नजाओस्।


















Discussion about this post