श्रमदानबाट अढाई महिनामै दुम्लिङमा झोलुङ्गे पुल निर्माण

सार्थक ब्यूरो । दार्चुलाको दुर्गम क्षेत्र व्यास गाउँपालिका–२ स्थित काठा दुम्लिङमा स्थानीय तथा विभिन्न जिल्लाबाट आएका श्रमदाताको सहभागितामा अढाई महिनामै झोलुङ्गे पुल निर्माण सम्पन्न भएको छ। पुल उद्घाटनको तयारी अन्तिम चरणमा पुगेको छ।
प्रतिनिधिसभा सदस्य तथा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई साम्पाङको पहलमा निर्माण गरिएको ७२ मिटर लामो उक्त पुलको शिलान्यास गत चैत २४ गते गरिएको थियो। त्यसयता निरन्तर श्रमदानमार्फत निर्माण कार्य अघि बढाइएको थियो।
पुल निर्माण अभियानका एडमिन म्यानेजर नवीन राईका अनुसार देशका विभिन्न जिल्लाबाट आएका चार सयभन्दा बढी व्यक्तिले श्रमदानमा सहभागिता जनाएका थिए। श्रमदाताहरूको सक्रिय सहयोगका कारण छोटो अवधिमै निर्माण सम्पन्न गर्न सफल भएको उहाँले बताउनुभयो।
उहाँका अनुसार आगामी असार १६ गते प्रतिनिधिसभा सदस्य हर्कराज राई साम्पाङ स्वयं दुम्लिङ पुगेर पुलको उद्घाटन गर्ने कार्यक्रम तय गरिएको छ।
स्थानीयवासी सविता बुढाथोकीले झोलुङ्गे पुल निर्माण भएपछि विद्यार्थीलाई विद्यालय आउजाउ गर्न र स्थानीयलाई खोला वारपार गर्न सहज भएको बताउनुभयो। विगतमा वर्षायामका चार महिना जोखिम मोलेर खोला तर्नुपर्ने बाध्यता रहेको भए पनि अब त्यो समस्या हटेको उहाँको भनाइ छ।
उहाँका अनुसार यसअघि सरकारी निकायबाट दुई पटक पुल निर्माणका लागि सर्वेक्षण गरिएको भए पनि काम अघि बढ्न नसक्दा स्थानीयले वर्षौँसम्म जोखिमपूर्ण यात्रा गर्नुपरेको थियो। पुल निर्माणपछि दैनिक आवतजावत सुरक्षित र सहज बनेको उहाँले बताउनुभयो।
स्थानीय वीरेन्द्र बुढाथोकीले श्रमदानमार्फत छोटो समयमा पुल निर्माण सम्पन्न हुनु उल्लेखनीय उपलब्धि भएको बताउनुभयो। सरकारी प्रक्रियाबाट यस्ता योजना पूरा हुन वर्षौँ लाग्ने उदाहरणहरू रहेको उहाँको धारणा छ।
द्रोपती जोहारीले पनि पुल निर्माणपछि वर्षायाममा खोला तर्नुपर्ने बाध्यताको अन्त्य भएको बताउँदै स्थानीयवासीमा खुसी छाएको बताउनुभयो।
पुल निर्माणका प्राविधिक इन्जिनियर डम्बर लिम्बूले स्थानीयको आवश्यकता र मागलाई ध्यानमा राखेर उक्त खोलामाथि झोलुङ्गे पुल निर्माण गरिएको जानकारी दिनुभयो। वर्षायाममा विद्यार्थी विद्यालय जान नसक्ने र यार्चागुम्बा सङ्कलनका लागि जाने नागरिकलाई आवतजावतमा कठिनाइ हुने समस्यालाई मध्यनजर गर्दै स्थानीयले पुल निर्माणका लागि आग्रह गरेका थिए।
यसैबीच, स्थानीयवासीले लामो समयदेखि प्रयोग गर्दै आएको तुइन हटाएर महाकाली नदीमाथि नेपाल–भारत जोड्ने झोलुङ्गे पुल निर्माण गरिदिन सरकार तथा प्रतिनिधिसभा सदस्य राईसँग पटक–पटक माग गर्दै आएका छन्। तर अन्तर्राष्ट्रिय सीमामा संरचना निर्माणका लागि दुवै देशको सहमति आवश्यक पर्ने भएकाले तत्काल त्यस्तो पुल निर्माण सम्भव नभएको प्रतिनिधिसभा सदस्य राईले स्पष्ट पार्नुभएको छ।
वर्षौँदेखि पूर्वाधार विकासको पहुँचबाट टाढा रहेको दुम्लिङमा श्रमदानको माध्यमबाट पुल निर्माण सम्पन्न भएपछि स्थानीयवासी उत्साहित बनेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित