दलहरू अस्थिर, जनमत अनिश्चित

सार्थक डेस्क।२०८४ को संघारमा उभिएको नेपाली राजनीतिमा स्थायित्वको सन्देशभन्दा बढी अन्योल, अविश्वास र आकस्मिक समीकरणहरूको चर्चा छ। प्रमुख राजनीतिक दलहरू आन्तरिक संघर्ष, नेतृत्व विवाद र वैचारिक अस्पष्टताले ग्रसित छन्। सत्तारूढ गठबन्धनहरू अडानभन्दा अवसरको कसीमा टिकिरहेका छन्, भने प्रमुख प्रतिपक्षहरू आक्रोशभन्दा विकल्प बन्न सकेका छैनन्।।
जनताको तर्फबाट भने स्पष्ट र स्थिर मतदर्शन देखिन छाडेको छ। २०७९ को निर्वाचनपछि देखिएको मिश्रित जनमतले न पुराना दलहरूलाई बहुमत दियो, न नयाँ शक्तिहरूलाई निर्णायक भूमिका दिने , यही असन्तुलनले संसद, सरकार र दलहरू सबैलाई कमजोर बनाएको छ।
दलहरूको अस्थिरता र जनमतको अनिश्चितताबीच २०८४ मा मुलुक नयाँ मोडमा पुग्ने सम्भावना बलियो छ,या त नयाँ राजनीतिक सोच र संयोजन जन्मिनेछ, या झन् गहिरो संस्थागत संकट सिर्जना हुनेछ।राजनैतिक दलहरुले आन्तरिक व्यवस्थापन गर्न सकेनन भने दलभित्रै बाट बिद्राेह भइ पतन तिर जान्छन् अथवा नेतृत्वले सवैकाे ब्यवस्थापन गरेर अगाडि बढ्न सक्छन।
दलहरुका कुरा गर्दा २०७९ को आमनिर्वाचनदेखि निरन्तर अस्थिरताको घेरामा घुमिरहेको नेपाली राजनीति २०८४ सालमा प्रवेश गर्दै गर्दा, अझै गहिरो द्वन्द्व र उथलपुथलको संकेत देखिन थालेको छ। संविधानतः निर्वाचन चक्र अनुसार प्रतिनिधिसभा विघटनको सम्भावना नभए पनि, देशको राजनीतिक मिजास, दलहरूको अन्तरिक अवस्था, गठबन्धनहरूको आयु र बदलिँदो जनमतले २०८४ लाई असाधारण वर्ष बनाउन सक्छ।
नेकपा एमालेले २०७९ पछि देखिएको पराजयलाई पुनरुत्थानको अवसरमा बदल्ने रणनीति अपनाइरहेको छ। पार्टी अध्यक्ष केपी शर्मा ओलीका लागि २०८४ निर्णायक बन्नेछ,या त पुनः सत्ता सम्हाल्ने बाटो, या त दीर्घकालीन पतनको सुरुवात। एमालेले वर्तमान सत्ता गठबन्धनको असफलता र भ्रष्टाचारको आरोपलाई जनतामाझ सशक्त रूपमा प्रस्तुत गर्दै आएको छ। तर, ओली नेतृत्वप्रति पनि प्रश्नहरू छन्,भित्रभित्रै वैकल्पिक नेतृत्वको आवाजहरु सुनिन थालेका छन्।
नेपालको शान्ति प्रक्रियाको मेरुदण्ड मानिएको नेकपा माओवादी केन्द्र २०८४ मा सबैभन्दा कठिन मोडमा पुग्ने देखिन्छ। शेरबहादुर देउवा र केपी ओलीको छायाँमा पार्टीको प्रासङ्गिकता खुम्चिदै गएको छ। अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री भए पनि, पार्टीको संगठनात्मक संरचना कमजोर हुँदै गएको छ। २०८४ माओवादीको पुनःस्थापना या अवसान दुबैको सम्भावना बोकेको समय बन्न सक्छ।
कांग्रेस भित्रको शक्ति संघर्ष झनै जटिल बन्दै गएको छ। सभापति शेरबहादुर देउवाको नेतृत्वलाई आन्तरिक रुपमा चुनौती दिनेहरू, शेखर कोइराला, गगन थापा, विश्वप्रकाश शर्माहरू,२०८४ तिर खुला प्रतिद्वन्द्वीतर्फ उन्मुख हुने संकेतहरू छन्। यदि पार्टीभित्र नेतृत्व परिवर्तनको प्रक्रिया स्वाभाविक ढंगमा अघि बढेन भने, पार्टी विभाजनको खतरा समेत मडारिन सक्छ।
राष्ट्रिय स्वतन्त्र पार्टी नेतृत्व विवाद र वैचारिक अस्पष्टताले ग्रसित छ। २०८४ मा निर्णायक बन्न सक्ने सम्भावना छैन। नयाँ अनुहार, नयाँ एजेन्डा र जनताको निराशालाई आशामा बदल्ने दाबीका साथ आएका रास्वपाले संसदमा स्थायी प्रभाव कायम गर्न सक्ने हो भने, नेपाली राजनीतिमा ठूलो सन्देश जान सक्छ। तर अनुभव, संगठन र स्पष्ट वैचारिक दिशा नहुनु रास्वपाको मुख्य कमजोरी बन्न सक्छ।
२०८४, केवल क्यालेण्डरको नयाँ पाना मात्र होइन,यो वर्ष नेपालमा सत्ता समीकरण, पार्टी पुनर्गठन, वैचारिक बहस र जनमतको पुनर्लेखनको युग बन्न सक्छ। पुराना दलहरू जीवित रहन संघर्षरत छन् भने नयाँ शक्तिहरू विश्वसनीयता प्रमाणित गर्न चुनौतीमा छन्। यस्तो सन्दर्भमा २०८४ साल साँचिकै उथलपुथलको वर्ष बन्ने सम्भावना नकार्न सकिँदैन।नेपाली राजनीतिले पुनः संक्रमणको मोड छुन लागेको छ। दलहरू पुराना छन्, नेतृत्व झन् पुराना। २०८४ साल दलहरूको शक्ति परीक्षणको निर्णायक वर्ष बन्नेछ,जहाँ साख, संगठन र विश्वासको परीक्षा हुनेछ।नेकपा एमाले बलियो  दल भए पनि नेतृत्वभित्रको विमति र पुनरुत्थानको शैलीले यसको भविष्य खुला छोडेको छ। नेपाली कांग्रेसभित्र नेतृत्वको उत्तराधिकार विवाद अझ चर्किंदैछ। माओवादी केन्द्र अस्तित्व बचाउने संर्घषमै अल्झिएको छ।नयाँ शक्ति रास्वपा जनभावनाको प्रतीक बन्न खोजिरहेको छ, तर संस्थागत गहिराइ अझै अपर्याप्त छ।
२०८४ मा बाँच्छ त्यो दल, जसले आफूलाई जनताको एजेन्डासँग जोड्छ, संगठन बलियो बनाउँछ, र पुरानोपनबाट मुक्त हुने आँट गर्छ। बाँच्छ कि बिलाउँछ,यो निर्णय अब जनताको हातमा छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित