सार्थक ब्यूरो ।सुक्लाफाँटा नगरपालिका–१० स्थित सनवोरा नदीमा जैविक तटबन्ध निर्माण कार्य सुरु गरिएको छ। बाढी र कटानको जोखिम बढेपछि स्थानीय बस्ती, खेलमैदान र कभर्डहल जोगाउन नदी किनारमा बाँस प्रयोग गरेर जैविक तटबन्ध बनाइएको हो।
नगरपालिकाको पूर्वाधार विकास शाखाका प्रमुख दीपक धामीका अनुसार करीब तीन सय मिटर क्षेत्रफलमा बाँस गाडेर र बाँसकै छेस्काबाट बुनेर तटबन्ध निर्माण गरिएको हो। ूयो तटबन्ध सस्तो, वातावरणमैत्री र दीर्घकालीन समाधान हो, धामीले भने, यसले कटान रोक्ने मात्र होइन, जैविक पुनःस्थापनामा समेत मद्दत गर्छ।
तटबन्ध निर्माण कार्यमा प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत छनोट भएका श्रमिकहरू परिचालित गरिएको छ। यस्तै, दक्ष श्रमिक, मेसिनरीको भाडा, इन्धन खर्च, बाँस खरिदलगायत शीर्षकमा नगरपालिकाले पाँच लाख रुपैयाँ खर्च गरेको हो।
धामीका अनुसार तटबन्ध निर्माणपछि खेलमैदान र हालै निर्माण भएको कभर्ड हलको जग्गा कटानबाट सुरक्षित हुने अपेक्षा गरिएको छ। साथै, नदी किनारमा रहेको खल्ला बस्ती पनि बाढीको जोखिमबाट जोगिने विश्वास गरिएको छ।
तटीय क्षेत्रमा थप संरक्षणका लागि घाँस र बोटबिरुवा रोप्ने तयारी भइरहेको र त्यसले जमिनलाई बाँधेर भूक्षय रोक्ने काम गर्ने शाखा प्रमुख धामीले जानकारी दिए। उनले भनेूभूक्षय नियन्त्रण गर्न बोटबिरुवा निर्णायक हुन्छ।
सोही क्षेत्रको अत्यधिक जोखिममा रहेको ९० मिटर क्षेत्रलाई थप मजबुत बनाउन जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयमार्फत १५ लाख रुपैयाँ लागतमा तारजाली र ढुंगाको तटबन्ध समेत निर्माण गरिएको छ।


















Discussion about this post