सार्थक ब्यूरो । सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्षको ११ महिनामा जम्मा ४२ दशमलव २७ प्रतिशत बजेट खर्च गरेको छ। साउनदेखि जेठ मसान्तसम्मको अवधिमा कुल ३१ अर्ब ६२ करोड ९८ लाखमध्ये १३ अर्ब ३३ करोड ४ लाख रुपैयाँ मात्रै खर्च भएको हो।
प्रदेश लेखा नियन्त्रक कार्यालयका प्रमुख वासुदेव जोशीका अनुसार सो अवधिमा चालुतर्फ ६ अर्ब ९७ करोड २ लाख र पुँजीगततर्फ ६ अर्ब ३६ करोड २ लाख रुपैयाँ खर्च भएको छ।
उनका अनुसार भौतिक पूर्वाधार विकास मन्त्रालयले सबैभन्दा धेरै ५ अर्ब ७९ करोड ३३ लाख खर्च गरेको छ। सामाजिक विकास मन्त्रालयले २ अर्ब ८६ करोड ७३ लाख, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले ९९ करोड ६७ लाख, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले ९२ करोड ७६ लाख रुपैयाँ खर्च गरेका छन्।
त्यस्तै, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले १६ करोड ७५ लाख, आर्थिक मामिला मन्त्रालयले ११ करोड ९२ लाख, आन्तरिक मामिला तथा कानुन मन्त्रालयले ५ करोड २१ लाख खर्च गरेको जोशीले जानकारी दिए।
प्रदेश व्यवस्थापिका सचिवालयले १३ करोड ४१ लाख, प्रदेश नीति तथा योजना आयोगले २ करोड ११ लाख र प्रदेश लोकसेवा आयोगले ४४ लाख रुपैयाँ खर्च गरेको प्रदेश लेखा नियन्त्रक कार्यालयले जनाएको छ।
यो आर्थिक वर्षका लागि सुदूरपश्चिम प्रदेश सरकारले चालुतर्फ १२ अर्ब ८५ करोड ७४ लाख र पुँजीगततर्फ १८ अर्ब ७६ करोड २४ लाख गरी कुल ३१ अर्ब ६२ करोड ९८ लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो।
बजेट खर्च कम हुनुको कारण योजनाको ढिलो सुरुआत, ठेक्का प्रक्रिया लम्बिनु र कार्यान्वयनको कमजोरी मानिएको छ। अब बाँकी एक महिनामा बजेट खर्च तीव्र बनाउनुपर्ने आवाज उठिरहेको छ।


















Discussion about this post