प्रधानमन्त्री ओली असारको अन्तिम साता भारत जाने तयारीमा

सार्थक डेस्क।प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणबारे फेरि चर्चा सुरु भएको छ। सरकार गठन भएको करिब एक वर्षपछि अब मात्र भारत भ्रमणको सम्भावना बलियो बनेको हो।
परराष्ट्र मन्त्रालय स्रोतका अनुसार प्रधानमन्त्री ओलीको भारत भ्रमण असार महिनाको अन्तिम साता (तेस्रो सातापछि) तय गर्ने गरी कूटनीतिक तहमा नेपाल–भारतबीच छलफल भइरहेको छ। मन्त्रालयका एक उच्च स्रोतका अनुसार, “भारत र नेपाल दुवै देशका कूटनीतिक अधिकारीहरू प्रधानमन्त्री ओलीको भ्रमण मिति टुंगो लगाउन कुराकानीमा छन्।”
तर, यसअघि पनि यस्तै छलफल भएको तर भ्रमण हुन नसकेको अनुभव रहेकाले परराष्ट्र मन्त्रालय सार्वजनिक रूपमा केही बोल्न इच्छुक छैन।
यसअघि प्रधानमन्त्री ओली थाइल्यान्डको बैंककमा भएको बंगालको खाडी प्रयास (बिमस्टेक) शिखर सम्मेलनमा सहभागी हुन जानुअघि भारत भ्रमणबारे चर्चा उठेको थियो। त्यति बेला बैंककस्थित होटल माडारिन ओरियन्टलमा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भएको भेटमा भ्रमण मिति प्रस्ताव गरिएको भए पनि भारतको आन्तरिक पात्रोअनुसार पुनः छलफल गरेर तय गर्ने भनिए पनि भ्रमण हुन सकेन।
प्रधानमन्त्री ओली २९ असार २०८१ मा प्रधानमन्त्री बनेयता भारत भ्रमणको प्रयासमै थिए। तर, भारतीय पक्षबाट औपचारिक सहमति नआएकाले दिल्ली भ्रमण सम्भव हुन सकेन। यता, उनले गत मंसिर १७ देखि २९ सम्म चीनको औपचारिक भ्रमण गरेका थिए। चीनबाट फर्केपछि उनले भारत जाने तयारी रहेको बताएका थिए, तर त्यो घोषणा पनि व्यवहारमा आउन सकेन।
प्रधानमन्त्री ओली र भारतीय समकक्षी मोदीबीच पछिल्लोपटक २२ चैतमा थाइल्यान्डमा भेटवार्ता भएको थियो। उक्त एक्लाएक्लै भेटमा मोदीले ओलीलाई भारत आउन निमन्त्रणा दिएको चर्चा भएको थियो। स्वदेश फर्केलगत्तै ओलीले आफू चाँडै भारत भ्रमणमा जाने बताएका थिए। तर त्यसपछि भारत भ्रमणको विषय चुपचाप हरायो।
अब पुनः असार महिनाको अन्त्यतिर भ्रमण हुन सक्ने बताइएको छ। तर अन्तिम सहमति नभएसम्म सरकारले भ्रमणबारे आधिकारिक घोषणा गर्ने सम्भावना कम देखिन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित