सार्थक ब्यूरो । कञ्चनपुर जिल्लाका चार नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि आ–आफ्नो नीति कार्यक्रम र बजेट सार्वजनिक गरेका छन्। जिल्ला सदरमुकाम भीमदत्त नगरपालिकाले सबैभन्दा ठूलो १ अर्ब ९३ करोड रुपैयाँको बजेट ल्याएको छ भने बेलौरीमा बजेट प्रक्रिया र पारदर्शितालाई लिएर विवाद उत्पन्न भएको छ।जिल्लाका सबै पालिकाहरूले शिक्षा, स्वास्थ्य, पूर्वाधार र सामाजिक सुरक्षालाई प्राथमिकता दिएको बताएका छन्।
भीमदत्त नगरपालिकाले सर्वाधिक १ अर्ब ९३ करोड रुपैयाँ बराबरको बजेट पारित गरेको छ। नगरप्रमुख पदम बोगटीको नेतृत्वमा १७औं नगरसभाबाट पारित बजेटमा आन्तरिक स्रोत ३३ करोड, सामाजिक सुरक्षामा मात्रै ५७ करोडको विनियोजन छ।
नगरपालिकाले “छोरी बुहारी उच्च शिक्षा छात्रवृत्ति”, “बुक फ्री फ्राइडे”, “मेयर अन द स्पट” कार्यक्रम, विषादीमुक्त कृषि, शववाहन, निःशुल्क एम्बुलेन्स सेवा, ज्येष्ठ नागरिकका लागि घरदैलो स्वास्थ्य सेवा लगायतका कार्यक्रमहरू सञ्चालन गर्ने जनाएको छ।एमाले निकट नगरसभा सदस्यहरूले बजेटमा असन्तुष्टि जनाउँदै योजना बाँडफाँट पारदर्शी नभएको आरोप लगाएका थिए।
त्यस्तै गरि बेलौरी नगरपालिकाले १५औं नगरसभाबाट ७६ करोड ६२ लाख रुपैयाँ बराबरको बजेट पारित गरेको छ। यद्यपि काँग्रेसबाट निर्वाचित दुई वडा अध्यक्षसहित सात नगरसभा सदस्यहरूले बजेट विधि मिचेर पारित गरिएको आरोप लगाएका छन्।उनको भनाइमा बजेट योजना स्पष्ट शीर्षकमा नभई ‘डल्लो बजेट’का रूपमा ल्याइएको छ, जसले पारदर्शितामा प्रश्न उठाएको छ। नगरप्रवक्ता हर्कबहादुर भुलले भने पर्याप्त छलफलपछि सर्वसम्मत रूपमा बजेट पारित भएको दाबी गरेका छन्।
अर्को ठुलो नगरपालिका का रुपमा रहेकाे कृष्णपुर नगरपालिकाले १ अर्ब १ करोड रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ। बजेटमा शिक्षा, भौतिक पूर्वाधार, स्वास्थ्य र सामाजिक सुरक्षामा नयाँ कार्यक्रमहरू समावेश छन्।
प्रमुख योजनाहरूमा उच्च शिक्षा छात्रवृत्तिको सुरुवात, स्वास्थ्य चौकीमा सर्पदंश उपचार केन्द्र, कोल्ड स्टोर स्थापना, १५ शैयाको नगर अस्पताल, तीनवटा रंगशाला, कृषि एम्बुलेन्स, र “सद्भावना दूत” का रूपमा ओलम्पियन दीपक विष्टको मनोनयन रहेका छन्।नगरपालिकाले सामुदायिक विद्यालय सुधारका लागि सबै जनप्रतिनिधि र कर्मचारीका सन्तानलाई अनिवार्य रूपमा सरकारी विद्यालयमा भर्ना गराउने निर्णय पनि गरेको छ।
त्यस्तै गरि शुक्लाफाँटा नगरपालिकाले ९२ करोड ७८ लाख बजेट पारित गरेको छ। नगर प्रमुख रणबहादुर महराका अनुसार गत वर्षका अधुरो योजनालाई निरन्तरता दिँदै कृषि, स्वास्थ्य, खानेपानी, पूर्वाधार र पर्यटन प्रवर्द्धनमा नयाँ योजना थपिएको छ।
बजेटमा “एक वडा, एक उद्यान”, ध्यान केन्द्र, सब-वाहन सञ्चालन, नगर गौरवका योजना, चक्रपथ निर्माण, नमुना खानेपानी योजना, र जग्गा नापजाँच कार्यालय विस्तारलगायतका कार्यक्रमहरू समावेश छन्।
नगर उपप्रमुख कल्पना पन्तले बजेट वक्तव्यमा सामाजिक विकासमा २९ करोड ४६ लाख, पूर्वाधारमा २४ करोड ८६ लाख, कार्यालय सञ्चालनमा ११ करोड ५४ लाखभन्दा बढी विनियोजन गरिएको जानकारी दिइन्।
कञ्चनपुरका चार नगरपालिकाको कुल बजेट ४ अर्ब ६३ करोड ४० लाख रुपैयाँभन्दा बढी रहेकाे छ।बजेट छलफलमा सहभागि भएका अधिकांश जनप्रतिनिधिहरूले समावेशी विकास, पारदर्शिता र कार्यान्वयनको प्रतिबद्धता व्यक्त गरेका छन्। तर बेलौरी र भीमदत्त नगरपालिकामा प्रक्रियागत र वितरणसम्बन्धी असन्तुष्टि पनि देखिएको छ।


















Discussion about this post