कञ्चनपुरका ९ वटै पालिकाको बजेट सार्वजनिक

सार्थक ब्यूरो ।कञ्चनपुर जिल्लाभित्रका सबै ९ वटा पालिकाले आर्थिक वर्ष २०८२/८३ का लागि आफ्नो नीति, कार्यक्रम र बजेट सार्वजनिक गरेका छन्। जिल्लाभित्र ७ नगरपालिका र २ गाउँपालिकाहरू रहेका छन्। अधिकांश पालिकाले शिक्षा, स्वास्थ्य, पूर्वाधार र सामाजिक सुरक्षालाई प्राथमिकता दिएका छन् भने केही पालिकामा बजेट प्रक्रिया र पारदर्शिता विषयमा विवादसमेत उठेको छ।
जिल्लाको सबैभन्दा पुरानो भीमदत्त नगरपालिकाले मङ्गलबार १७औँ नगरसभाबाट १ अर्ब ९३ करोड रुपैयाँको बजेट पारित गरेको छ । छोरी–बुहारीलाई उच्च शिक्षामा छात्रवृत्ति दिनेदेखि शिक्षा, स्वास्थ्य र कृषि क्षेत्रलाई प्राथमिकतामा राखिएको छ ।तर, एमाले निकट सदस्यहरूको असन्तुष्टि, बजेट बाँडफाँटमा असमानता र सार्वजनिक जग्गा संरक्षण कार्यान्वयनबारे गम्भीर प्रश्न छन्।
बेदकोट नगरपालिकाले मङ्गलबार ९८ करोड ६५ लाख रुपैयाँको बजेट ल्याएको छ । नीति तथा कार्यक्रममा शिक्षा, स्वास्थ्यलगायत क्षेत्रलाई प्राथमिकता दिइएको छ । दोधारा–चाँदनी नगरपालिकाले आइतबार नै ७६ करोड रुपैयाँको बजेट पारित गरिसकेको छ । बाढीका कारण बर्सेनि डुबानमा पर्ने भएकाले विपद् व्यवस्थापन र पूर्वतयारीमा विशेष प्राथमिकता दिएको छ । दोधारा चाँदनी नगरपालिका
भौगोलिक दृष्टिले टुक्रिएको तर व्यापारिक तथा पर्यटकीय सम्भावना बोकेको नगरपालिका। महाकाली नदी किनारमा अवस्थित यस नगरपालिकाले नदी नियन्त्रण, पुल, सडक विस्तार, बजार व्यवस्थापन र धार्मिक पर्यटन विकासमा बजेट केन्द्रित गर्नु जरुरी छ।संघीय सरकारसँगको सहकार्य आवश्यक भए पनि विगतमा समन्वयको कमीले ठूलो योजना अलपत्र छन्।
यसैगरी, शुक्लाफाँटा नगरपालिकाले ९२ करोड रुपैयाँको बजेट पारित गरिसकेको छ । कृष्णपुर नगरपालिकाले १ अर्ब १ करोड, बेलौरी नगरपालिकाले सामाजिक सुरक्षा भत्ता बाहेक ७६ करोड र पुनर्वास नगरपालिकाले ७५ करोड ७७ लाख रुपैयाँको बजेट ल्याएका छन् ।
दुई गाउँपालिका बेलडाँडी र लालझाडीले पनि अघिल्ला वर्षका कार्यक्रमलाई निरन्तरता दिएका छन् । केही आकर्षक नारासहित नीति, कार्यक्रम र बजेट ल्याइएको छ । बेलडाँडीले ५४ करोड ५० लाख र लालझाडीले ४३ करोड ६५ लाख रुपैयाँको बजेट ल्याएका छन् ।कञ्चनपुरकै सानो जनसंख्या भएको पालिका भए पनि वन, कृषि र सस्तो श्रमशक्ति समावेश गर्ने रणनीति आवश्यक। अघिल्ला बजेटहरूमा सडक र खानेपानीमा खर्च बढी देखिए पनि कृषि उत्पादकत्व, शिक्षा र स्वास्थ्य सुधारमा लगानी अझै अपर्याप्त छ।
कञ्चनपुरका ९ पालिकाको कुल बजेट लगभग ५ अर्ब २५ करोड रुपैयाँ पुग्ने अनुमान छ।७ नगरपालिका र २ गाउँपालिका मध्ये अधिकांशले सामाजिक सुरक्षा, शिक्षा, स्वास्थ्यलाई प्राथमिकतामा राखेका छन्। तर बजेट प्रक्रिया पारदर्शी छैन, कतै राजनीतिक विवाद छ त कतै योजना कार्यान्वयन क्षमताको अभाव।
बजेटलाई राजनीतिक स्वार्थभन्दा बाहिर राखी स्थानीय आवश्यकताको अध्ययन, सहभागिता, पारदर्शिता र समावेशीतामा आधारित नीति आवश्यक छ। बजेट केवल घोषणा होइन, जनताको जीवनस्तर उकास्ने साधन बन्नुपर्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित