सक्रिय राजनीतिमा फर्कने बिद्या भण्डारीको घोषणा

सार्थक ब्यूरो ।पूर्वराष्ट्रपति तथा नेकपा एमालेकी पूर्वउपाध्यक्ष विद्या भण्डारीले आफू सक्रिय राजनीतिमा फर्किएको औपचारिक घोषणा गर्नुभएको छ।शनिबार, मदन जयन्तीको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा भण्डारीले अब नेकपा एमालेमार्फत राष्ट्र र जनताको सेवा गर्ने अभियानमा जुट्ने बताउँदै पार्टी सदस्यता समेत नविकरण गरिसकेको जानकारी दिनुभयो।
उहाँले भन्नुभयो, “सार्वजनिक चासोका विषयमा मैले गम्भीर चिन्तन–मनन गरेकी छु। अब जीवनभर पार्टीमै रहेर राष्ट्र र जनताको सेवा गर्ने अठोटका साथ म नेकपा एमालेको पुनः सक्रिय सदस्यको रूपमा जोडिएकी छु।”
पूर्वराष्ट्रपति भण्डारीले आफ्नो कुनै व्यक्तिगत आकांक्षा नरहेको प्रष्ट पार्दै पार्टीलाई बलियो राष्ट्रिय शक्ति बनाउने र देश–जनताको सेवा गर्ने उद्देश्य मात्र रहेको बताउनुभयो।
“समयले धेरै कुरा सिकाएको छ। अहिलेको यो चरणमा सबैले समयको मागअनुसार सोच्नुपर्छ भन्ने मेरो बुझाइ छ,” उहाँले भन्नुभयो।
राष्ट्रपतिको जिम्मेवारीबाट बाहिरिएपछि जनप्रतिनिधि, नागरिक, विभिन्न क्षेत्रका व्यक्तिहरूसँगको निरन्तर संवादले आफू अझै केही जिम्मेवारी बाँकी रहेको निष्कर्षमा पुगेको उल्लेख गर्दै, त्यो दायित्व पूरा गर्न अब सक्रिय राजनीतिमा फर्कनुपर्छ भन्ने निर्णयमा पुगेको जानकारी दिनुभयो।
“मैले गरेको धेरै भेटघाटले मलाई यो अनुभूति दिलायो कि मेरो काम अझै बाँकी छ। त्यसैले म यो गम्भीर जिम्मेवारी निर्वाह गर्न पुनः सक्रिय भएको हुँ,” उहाँले जोड दिनुभयो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित