तीन महिनामा तेइस सय बढी विपद्जन्य घटना

सार्थक ब्यूरो । चालु वर्षको वैशाख १ गतेदेखि साउन ५ गतेसम्मको तीन महिनाको अवधिमा मुलुकभर विभिन्न प्रकारका २,३२६ विपद्‌जन्य घटनाहरू भएका छन्, जसमा कम्तीमा १०२ जनाले ज्यान गुमाएका छन्।राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार ती घटनाबाट अझै २० जना हराइरहेका छन् भने ५१२ जना घाइते भएका छन्। यी विपद्बाट ४,३२३ परिवार प्रत्यक्ष प्रभावित भएका छन्।
प्राधिकरणका प्रवक्ता एवं उपसचिव सुरेश सुनारका अनुसार, मनसुनका कारण आएका बाढी, पहिरो, चट्याङ, आगलागी, सर्पदंश लगायतका घटनाहरूले मानवीय र भौतिक दुबै प्रकारका क्षति पुर्‍याएका छन्।
सबैभन्दा धेरै ९७६ आगलागीका घटना भएका छन् जसमा १४ जनाको मृत्यु भएको छ। त्यसपछि बाढीका १५१ घटनामा १३ जनाले ज्यान गुमाएका छन् भने २० जना अझै बेपत्ता छन्। चट्याङका २२९ घटनामा २८ जनाको ज्यान गएको छ। पहिरोका २०७ घटनामा ९ जनाको मृत्यु भएको छ भने भारी वर्षाका १०३ घटनामा २ जनाको मृत्यु भएको छ।
यस्तै सर्पदंशका ६३ घटनामा ५ जना, हुरीबतासका २७३ घटनामा ८ जना, जनावरको आक्रमणबाट १२ जना र लेक लागेर ११ जनाले ज्यान गुमाएका छन्। डढेलो, भूकम्प, डुङ्गा पल्टिने, असिना पानी जस्ता अन्य घटनाहरू पनि भएका छन्, तर ती घटनामा मानवीय क्षति नभएको प्राधिकरणको भनाइ छ।
क्षतिको विवरण हेर्दा, बाढीबाट १,२५४ घर प्रभावित भएका छन् भने आगलागीले १,०८९ परिवारलाई असर गरेको छ। भारी वर्षाले ५४७, चट्याङले २६४, पहिरोले २४१, सर्पदंशले ७०, हुरीबतासले ५३१, जनावर आक्रमणले १८६ र डढेलोले २७ परिवार प्रभावित बनाएका छन्।
प्राधिकरणले सबै नागरिकलाई सावधानी अपनाउन र स्थानीय तहसँग समन्वय गर्न आग्रह गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित