पुष्पलालको ४७ औं स्मृति दिवस : सम्झनामा पुष्पलाल

-हरि प्रसाद जोशी

नेपाल कम्युनिष्ट पार्टीको संस्थापक नेता पुष्पलालको भोलि साउन ७ गते ४७ औं स्मृति दिवस विविध कार्यक्रम गरि औपचारिकता निभाउने काम गरिने गरिएको छ । उहाँले परिकल्पना गरेको समाज निर्माण गर्न सकिएको छैन । जसतर्फ राजनैतिक दल विषेस गरि नेकपा एमाले सचेत हुन जरुरि देखिन्छ । वि.सं. १९८१ असार १५ गते पूर्व २ नं. रामेछाप जिल्लामा पिता भक्तलाल र माता तुलसीकुमारीको पहिला छोराका रूपमा जन्म भएको थियो। वि.सं. १९९७ सालमा आफ्ना दाजु अमर शहीद गङ्गालाल श्रेष्ठलाई गोली ठोकी मार्नु ठीक एकदिनअघि भद्रगोल जेलमा सपरिवार भेट्न जाँदा गङ्गालालले पुष्पलाललाई माइला, मैले प्रजातन्त्रका निमित्त बालेको दियोलाई तैँले प्रज्वलित पार्नेछस् भन्नुभएको थियो र दाजुको यही शब्द नै पुष्पलालको निम्ति राजनीतिमा प्रवेश गर्ने प्रेरणाको श्रोत बन्यो।
वि.सं. १९९८ सालमा पुष्पलाल श्रेष्ठले प्रेमबहादुर कंसाकार, शम्भुराम श्रेष्ठ, सूर्यबहादुर भारद्वाज र राजारामसँग मिलेर नेपाली प्रजातान्त्रिक संघको गठन गर्नुभयो। संघमा रहेका सदस्यले आ-आफ्नो रगतले प्रतिज्ञापत्रमा सही गरेर पार्टीमा लाग्नुपर्ने नियम थियो। संघले राणाशासनको विरोध गर्ने, विद्यालयहरू खोली विभिन्न खालका (सिपमूलकसमेत) तालीम दिन्थ्यो। भारतमा पनि राणाविरोधी क्रियाकलाप बढाउने पुष्पलालले १९९७ सालदेखि बन्दीजीवन बिताइरहेका नेपाल प्रजा परिषद्का नेताहरूसित गोप्यरूपले सम्पर्क राखी टंकप्रसाद आचार्यलगायत अरू नेताहरूको नेलसहितको फोटो सन् १९४२मा भारत, पटनाबाट प्रकाशित हुने जनतापत्रिकामा प्रकाशित गर्न मद्दत गर्नुभयो। २००४ सालमा नेपाली राष्ट्रिय कांग्रेसले नागरिक अधिकारको लागि गरेको आन्दोलनको नेतृत्व पुष्पलाल श्रेष्ठ, शम्भुराम श्रेष्ठ, स्नेहलता श्रेष्ठ, साहना प्रधान आदिले गर्नुभयो। जनताद्वारा गरिएको यही पहिलो जनआन्दोलनका कारण पद्म शमशेरले सुधारको कदम चाल्ने घोषणा गरे।
मार्क्सवाद-लेनिनवादलाई सर्वोत्तम विचारधारा ठानी २००६ सालमा कलकत्तामा पुष्पलालले नेपाल कम्युनिष्ट पार्टीको स्थापना गर्नुभयो। २००६ सालमा भारतको कलकत्तामा भारत कम्युनिष्ट पार्टीका नेता अजय चक्रवर्तीसँगको भेटले उहाँको जीवनमा नयाँ मोड ल्यायो। त्यसबखत पुष्पलाल पश्चिम बङ्गालका वर्तमान मुख्यमन्त्री ज्योति बसुको नजिकहुनुहुन्थ्यो। पुष्पलालले नेपालमा साम्यवादी विचारधाराको व्यापक प्रचार-प्रसार गर्न कम्युनिष्ट पार्टीको घोषणापत्र नेपालीमा अनुवाद गर्नुभयो। सम्भवतः नेपाली भाषाको सबभन्दा पहिलो साम्यवादी साहित्य यही नै थियो। उहाँको विवाह साहना प्रधान सँग भएको थियो। २०१५ सालको आम चुनावमा बन्दीपुर, २०१७मा पार्टी प्रभाव बिस्तार गर्न तेह्रथुम बजारमा पुग्नुभयो। २०१६ सालमा उहाँ सोभियत सङ्घमा सम्पन्न कम्युनिष्ट अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिई सोही वर्ष चीनभ्रमण गर्नुभयो।
२०१७ साल पुष १ गते राजाबाट चालिएको कदम पछि भूमिगत र निर्वासितजीवन बिताउन बाध्य पुष्पलालले चारैतिर छरिएका कम्युनिष्टहरूलाई भेला गराई तेस्रो महाधिवेशन गर्नुभयो।नेका र कम्युनिष्टहरू मिलेर संघर्ष गरेमा मात्र नेपालबाट निरंकुश पञ्चायती समाप्त हुन सक्छ भन्ने भविष्यवाणी गर्ने नेता पुष्पलालको २०३५ साल साउन ७ गते भारतको नयाँ दिल्लीस्थित अल इण्डिया मेडिकल इन्स्टीच्युटमा उपचार गराउँदा-गराउँदै निधन भयो।हरेक वर्ष साउन ७ गते  पुष्पलाल श्रेष्ठको स्मृति दिवसका रूपमा मनाइन्छ। वि।सं।  पुष्पलालले नेपाली समाजको रूपान्तरणका लागि जीवन भरि संघर्ष गरे। कम्युनिस्ट आन्दोलनका प्रवर्तक, विचारक, लेखक र संगठनकर्ता पुष्पलालले नश्ल, वर्ग र उत्पीडनविरुद्धको चेतनालाई संगठित राजनीतिक अभियानमा रूपान्तरण गरे।
नेपालमा कम्युनिष्ट आन्दोलनको बीजारोपण
नेपाली कम्युनिष्ट आन्दोलनको औपचारिक सुरुवात २००६ साल वैशाख २६ गते पुष्पलालद्वारा स्थापित नेपाल कम्युनिष्ट पार्टी (NKP) बाट भएको थियो। भारतमा निर्वासित जीवन बाँच्दै गर्दा उनले भारतीय कम्युनिष्ट पार्टी, चिनियाँ समाजवादी क्रान्ति र मार्क्सवाद–लेनिनवादको अध्ययन गर्दै नेपालको सामाजिक–राजनीतिक अवस्थाको विश्लेषण गरे। त्यसै आधारमा, उनले वर्ग–विरोध, सामन्तवाद, निरंकुशता र विदेशी प्रभुत्वविरुद्धको आन्दोलनलाई संगठित गर्ने प्रयत्न गरे।
उनी केवल पार्टीको संस्थापक मात्र होइन, आन्दोलनका विचारक पनि थिए। उनले पार्टीको पहिलो घोषणापत्र, राजनीतिक र सांगठनिक दस्तावेजहरू स्वयम् लेखे। उनलाई नेपालको ‘कम्युनिष्ट आन्दोलनका सिद्धान्तकार’ भन्न सकिन्छ।
शब्दमा होइन, व्यवहारमा विचार
पुष्पलाल विचारमा कठोर, व्यवहारमा सरल र व्यक्तिगत जीवनमा एकदम निस्वार्थ थिए। उनले सत्ताको लालसा कहिल्यै राखेनन्, बरु वैचारिक स्पष्टता, नैतिक दृढता र संगठन निर्माणमा आफ्नो सम्पूर्ण जीवन समर्पण गरे। झनझन गहिरिँदै गएको अवसरवाद र सिद्धान्तहीन राजनीतिका बेलामा पुष्पलालको निष्ठा आज पनि उदाहरणीय छ।
साहित्यिक र वैचारिक योगदान
पुष्पलालले माक्र्स, एङ्गेल्स, लेनिन, माओ आदिका मूल ग्रन्थहरू नेपालीमा अनुवाद गर्दै नेपाली पाठक–कार्यकर्तालाई समाजवाद र वर्गसंघर्षको सैद्धान्तिक समझ दिलाउने प्रयास गरे। उनको अनुवाद र लेखनमार्फत वाम आन्दोलनको वैचारिक जग तयार भयो।
वर्तमान सन्दर्भमा पुष्पलाल
आज नेपालको वाम आन्दोलनले जुन राजनीतिक उचाइ र सत्ता पहुँच हासिल गरेको छ, त्यसको मूलमा पुष्पलालको संगठनात्मक र वैचारिक योगदान छ। तर, उनी सपनाको स्थायित्व अझै अधुरो छ। सिद्धान्तभन्दा शक्ति, विचारभन्दा स्वार्थ, सेवा भन्दा सत्ता प्राथमिक हुने प्रवृत्तिले पुष्पलालका आदर्शहरू ओझेलमा पारेका छन्।
आजको स्मृति दिवस केवल श्रद्धाञ्जलि दिनु होइन, विचार र मार्ग समात्ने समय हो। जनतालाई केन्द्रमा राख्ने विचार, निष्ठामा टिक्ने नेतृत्व र आत्मबलमा उभिने राजनीति आज पनि पुष्पलालले देखाएको बाटो हो।
यस अवसरमा पुष्पलालप्रति हाम्रो श्रद्धा केवल फूल चढाएर होइन, व्यवहारमा उनका विचार उतारेर नै साँचो श्रद्धाञ्जलि हुनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित