दोधाराचाँदनी सुक्खा बन्दरगाहको काम सुरु :सुदूरपश्चिममै आर्थिक समृद्धिको ढोका खुल्ने आशा

सार्थक ब्यूरो । पश्चिम नेपालको कञ्चनपुर जिल्ला अन्तर्गत दोधाराचाँदनीमा निर्माण हुने सुक्खा बन्दरगाहको निर्माण कार्य मंगलबारबाट औपचारिक रूपमा सुरु भएको छ। दोधाराचाँदनी नगरपालिका–१ स्थित चाँदनीमा बन्ने उक्त सुक्खा बन्दरगाह भारतीय लगानीमा निर्माण हुँदैछ भने निर्माणको जिम्मा भारतीय निर्माण कम्पनी ऋःत् ऋयलकतचगअतष्यल एखत। ीतम। ले पाएको छ।
नेपाल सरकारले निर्माण स्थलको जमिनमा रहेका झन्डै १५ सय रुख हटाएपछि कम्पनीले काम सुरु गरेको हो। नेपाल इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलका अनुसार, नेपाली पक्षले जमिन खाली गराइदिएपछि कम्पनीलाई साइट हस्तान्तरण गरिएको र हाल जरा उखेल्ने तथा व्यवस्थापनको काम अघि बढेको जानकारी दिए।
उक्त बन्दरगाहको क्षेत्रफल ४२.३६ हेक्टर रहेको छ भने पहिलो चरणमा २५ हेक्टर क्षेत्रभित्र गोदाम, भन्सार जाँच, क्वारेन्टाइन, इमिग्रेशन र सुरक्षा जस्ता भौतिक पूर्वाधारहरू निर्माण गरिनेछ। निर्माणसँग सम्बन्धित वातावरणीय प्रभाव मूल्यांकन (EIA) तथा प्रारम्भिक अध्ययन (IEE) प्रतिवेदनहरू समेत तयार भइसकेका छन्।
यस परियोजनाको लागत करिब २ अर्ब ४० करोड रुपैयाँ अनुमान गरिएको छ भने तीन वर्षभित्र निर्माण कार्य पूरा गर्ने योजना रहेको CMT का प्रबन्ध निर्देशक सुनील शर्माले जानकारी दिएका छन्।
सुदूरपश्चिमका उद्योगी तथा औद्योगिक तथा लगानी प्रवर्द्धन बोर्डका सदस्य तेजबहादुर चन्दले सुक्खा बन्दरगाहको काम सुरु भएसँगै यो केवल सुदूरपश्चिमका लागि मात्र होइन, समग्र राष्ट्रकै आर्थिक विकासका लागि महत्वपूर्ण हुने बताएका छन्। उनका अनुसार यो बन्दरगाह त्रिदेशीय मात्र नभई सम्पूर्ण एसियाली मुलुकसँग नेपाललाई जोड्ने गेटवे बन्नेछ।
कञ्चनपुरका अर्का युवा उद्योगी दिवाकर भट्टले गड्डाचौकी नाकाबाट भारतको उत्तराखण्डस्थित रुद्रपुर औद्योगिक क्षेत्रमा दुई घण्टामै पुग्न सकिने बताए। उनका अनुसार रुद्रपुर भारतकै ठुलो औद्योगिक क्षेत्र हो, तर यति नजिक हुँदाहुँदै सुदूरपश्चिमले व्यापारिक लाभ उठाउन नसकेको दुःख व्यक्त गरे। अब सुक्खा बन्दरगाह र एकीकृत जाँच चौकी (ICCP) को निर्माणपछि व्यापारिक सम्बन्ध विस्तारको ढोका खुल्ने उनको भनाइ छ।
स्थानीय युवा प्रविन बोगटीले सरकारले अब अन्यत्र योजना तर्फ ध्यान नदिई दोधाराचाँदनी र दैजी–छेला औद्योगिक क्षेत्रको विकासमा प्राथमिकता दिनुपर्ने बताए।
दोधाराचाँदनी सुक्खा बन्दरगाहको योजना पहिलोपटक २०६४ सालमा तत्कालीन उद्योग मन्त्री लेखराज भट्टले ल्याएका थिए। झण्डै १८ वर्षपछि अहिले उद्योग मन्त्री दामोदर भण्डारीको पालामा सो योजना भौतिकरूपमा अगाडि बढ्दा स्थानीय जनतामा आशाको किरण पलाएको छ।
सुक्खा बन्दरगाह निर्माणले न केवल सुदूरपश्चिम क्षेत्रको आर्थिक रूपान्तरण गर्नेछ, तर नेपाललाई भारत र चीन हुँदै एसियाली बजारसँग जोड्ने रणनीतिक पूर्वाधारको रूपमा कार्य गर्नेछ। अब सरकारको दृढता र नियमित अनुगमनले मात्र यो सपना साकार हुनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित