सार्थक ब्यूरो । चुरे क्षेत्रको भित्रीमधेश बस्तीमा पक्की सिँचाइ कुलो निर्माण भएपछि त्यसले स्थानीय बासिन्दाको जीवनमा बहुआयामिक सहजता ल्याएको छ। आलिताल क्षेत्रबाट बहने रङ्गुन खोलाबाट पानी ल्याई पक्की कुलो निर्माण गरिएपछि खेत सिँचाइसँगै जनावरलाई पानी खुवाउने, सरसफाइ गर्ने, लुगा धोने जस्ता कार्यहरूमा पनि प्रयोग हुन थालेको छ।आलिताल गाउँपालिका–५ को तल्लो भाँवर गाउँका ४० बढी घरधुरीको सयौं रोपनी खेतीयोग्य जमिनमा अब सिँचाइ सहज भएको छ। स्थानीय उपभोक्ता समिति अध्यक्ष गगन रावतका अनुसार अब खेतमा रोपाइँ समयमै सकिएको छ र सिँचाइका लागि कडा मेहनत गर्नुपर्ने झन्झट हटेको छ।गत आर्थिक वर्ष २०८१/८२ मा जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय डडेलधुराको रु २० लाख बजेटमा सुन्दरनगर तल्लो भाँवर सिँचाइ योजना अन्तर्गत करिब ३२० मिटर लम्बाइको पक्की कुलो निर्माण गरिएको थियो।रावतका अनुसार, पहिलेको कच्ची कुलो बारम्बार फुट्ने र पानी गुम्ने समस्या झेल्नुपर्थ्यो। रोपाइँको समयमा एक जनाले कुलोमा दिनभर पानी मात्रै ल्याउनु पर्थ्यो। अब भने पक्की कुलोका कारण पानी निरन्तर बहिरहेकाले खेतीबालीका साथै घरेलु प्रयोजनमा पनि सहजता आएको छ।
यद्यपि, मुहानदेखि गाउँसम्म पक्की कुलो बने पनि खेतसम्म पानी पुर्याउन अझै बजेट आवश्यक रहेको रावतले बताएका छन्।जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय डडेलधुराका प्रमुख इन्जिनियर अमरबहादुर पालका अनुसार, अघिल्लो वर्षमा कार्यालय अन्तर्गत सिँचाइ तथा तटबन्धका गरी २०६ वटा योजना सञ्चालनमा थिए। तीमध्ये १४० वटा योजना सिँचाइसँग सम्बन्धित थिए।इन्जिनियर पालले असार मसान्तसम्म ५–६ वटा योजना अपूरा रहँदा करिब दुई करोड रुपैयाँ फ्रिज भएको जानकारी दिएका छन्। उनले बाँकी योजनाहरू सम्झौता भएर कार्यान्वयनमा रहेको जानकारी दिए।


















Discussion about this post