सार्थक ब्युरो। विश्व बाघ दिवसको अवसरमा विशेष कार्यक्रमको आयोजना गरी शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज कार्यालयले आफ्नो क्षेत्रमा बाघको अवस्थाबारे जानकारी दिएको छ ।
कार्यक्रममा २०८१ कार्तिक १८ देखि पौष १० सम्म सञ्चालन गरिएको विस्तृत अनुगमनबाट निकुञ्जमा बाघको संख्या बढेर ४३ पुगेको बताइएको छ ।
क्यामेराका आधारमा गणना भए अनुसार निकुञ्जमा २१ वटा भाले र १९ वटा पोथी बाघ रहेका छन् । त्यसबाहेक प्राविधिकहरूले देखेका तर क्यामेरामा कैद नभएका थप ३ वटा बाघलाई पनि गणना गरिएको हो ।
वि.सं. २०३३ सालमा बाह्रसिंगाको बथान संरक्षणका लागि वन्यजन्तु आरक्षको रूपमा स्थापना शुक्लाफाँटा २०७३ साल फागुन ०९ गते निकुञ्ज बनेको हो ।
सुरुमा १ सय ५५ वर्ग किलोमिटर क्षेत्रफल रहेको आरक्षलाई २०५४ सालमा थप १ सय ५० वर्ग किलोमिटर विस्तार गरेर ३०५ वर्ग बनाइएको थियो ।
निकुञ्जको करिब ५२ प्रतिशत क्षेत्र सालको वनले ढाकेको छ भने १९ प्रतिशत भू–भाग घाँसे मैदान छ । निकुञ्जमा जङ्गली हात्ती, एकसिंगे गैँडा, पाटे बाघ, बाह्रसिङ्गा, हिस्विड खरायो, सुनगोहोरोजस्ता संरक्षित वन्यजन्तुका साथै करिब ४६४ प्रजातिका चराचुरुङ्गीहरू पाइन्छन् ।


















Discussion about this post