सार्थक ब्युरो।प्रधानमन्त्रीको उपस्थितिमा सुदूरपश्चिम प्रदेशको चिसापानीमा आयोजना गरिएको औपचारिक कार्यक्रममा सहभागी हुन गएका दुई मन्त्री चढेको सवारीसाधन एकआपसमा ठोक्किएको घटनाले राज्य संयन्त्रमा विद्यमान लापरबाही, गैरजिम्मेवारी र शासन संस्कृतिको खस्कँदो अवस्थाको प्रतिविम्ब देखाएको छ ।मंगलबार दिउँसो करिब १ः१५ बजे सुदूरपश्चिम प्रदेश सरकारका भौतिक पूर्वाधार मन्त्री सुरेन्द्र पाल चढेको बा.२ झ १४१९ नम्बरको गाडी र आन्तरिक मामिला तथा कानुन मन्त्री हिरा सिंह कार्की चढेको से.१ झ ३३० नम्बरको गाडी एकआपसमा ठोक्किएका थिए । यद्यपि घटनामा मानवीय क्षति नभएको कैलालीका डीएसपी राजकुमार सिंहले जानकारी दिए तापनि दुवै गाडीमा क्षति पुगेको छ ।यो घटनालाई सामान्य दुर्घटनाका रूपमा मात्र लिन सकिन्न । दुई मन्त्रीको सुरक्षा व्यवस्थापन, सवारी चालकको तालिम, गाडीको गति नियन्त्रण, पूर्वसमन्वय र प्रशासनिक दक्षताको अभावले यस्तो लज्जास्पद अवस्था सिर्जना भएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा आयोजित कार्यक्रममा सहभागी मन्त्रीहरूका गाडी आफैं भिड्नु व्यवस्थापकीय चरम असावधानीको परिचायक हो । प्रश्न उठ्छ—यदि मन्त्रीहरूको गाडी आफैंले एक–अर्कालाई चिन्न सकेनन् वा सहकार्य गर्न सकेनन् भने, ती मन्त्रीहरू जनताको जीवन सुधार्न कसरी सहकार्य गर्छन ? यस्तो घटना कूटनीतिक, प्रशासनिक र नैतिक दृष्टिले गम्भीर छ, जसको जवाफदेही कुनै निकाय वा पदाधिकारीबाट अपेक्षित छैन ।साथै, करदाताको पैसा खर्च गरेर खरिद गरिएका सरकारी सवारीसाधन यति लापरवाहीपूर्वक प्रयोग हुनु, संसदीय आचारसंहिता र उत्तरदायित्वको गम्भीर उल्लंघन हो । मन्त्रीहरूले आफैं कानून पालना नगर्ने हो भने सार्वजनिक हितका कार्यक्रमहरूमा उनीहरूबाट कस्तो नेतृत्वको आशा गर्ने ?
यस्तो घटनापछि प्रदेश सरकार र गृह प्रशासनले तत्काल छानबिन समिति गठन गरेर जिम्मेवार पक्षमाथि कारबाही प्रक्रिया सुरु गर्नुपर्छ । अन्यथा, राज्य संयन्त्रप्रति नागरिकको विश्वास अझ गम्भीर रूपमा खस्कनेछ ।


















Discussion about this post