सार्थक ब्युरो।राष्ट्रिय गौरवको आयोजना अन्तर्गत रहेको अर्को आयोजनाको उद्घाटन भएको छ ।सुदूरपश्चिमको कैलालीमा रहेको रानी जमरा कुलरिया सिँचाइ आयोजनाको मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका छन ।यो निर्माण सम्पन्न भई उद्घाटन भएको राष्ट्रिय गौरवमा सूचीकृत पाँचौँ आयोजना हो । यसअघि अपर तामाकोशी हाइड्रोपावर, मेलम्ची खानेपानी आयोजना, भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण सम्पन्न भएको औपचारिक उद्घाटन भएको थियो ।यो आयोजनाको इतिहास १२० वर्ष पुरानो छ । यो कृषकबाट निर्माण गरी व्यवस्थापन समेत गरिएको सबैभन्दा ठुलो सिँचाइ प्रणाली हो । स्थानीय समुदायको प्रयासबाट सुरुमा निर्माण भएको यो आयोजनाले स्तरोन्नतिअघि कैलालीको टीकापुर नगरपालिका, लम्की चुहा नगरपालिका र जानकी गाउँपालिका लगायत क्षेत्रका करिब ११ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा उपलब्ध गराउँदै आएको थियो ।यस सिँचाइ प्रणालीमा कमान्ड एरियाको दक्षिणी भागमा रानी सिँचाइ प्रणाली, मध्य भागमा जमरा सिँचाइ प्रणाली र उत्तरी भागमा सिँचाइ गर्न कुलरिया सिँचाइ प्रणाली रहेको छ । यी प्रणालीहरूको व्यवस्थापन गर्न तीन वटै प्रणालीमा अलग अलग जल उपभोक्ता संस्था रहेका थिए । यी तीन वटै शाखा प्रणालीको समन्वयको लागि कर्णाली कुलो (रानी जमरा कुलरिया) सिँचाइ जल उपभोक्ता संस्था मूल समिति रूपमा रहेको छ । यही आयोजनालाई आधुनिकीकरण गर्न यसलाई राष्ट्रिय गौरवमा समावेश गरेर स्तरोन्नति थालिएको हो ।
यो आयोजनाको आधुनिकीकरण २०६६/६७ मा सुरु गरिएको थियो । तीन चरणमा स्तरोन्नति थालिएको उक्त आयोजनाको पहिलो चरणको काम २०७२/७३ मा सम्पन्न भएको
थियो । दोस्रो चरण कार्यका लागि विश्व बैंकको सहयोग रहनेगरी २०७५/७६ मा सम्झौता भएकोमा २०८२ असार मसान्तभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको थियो । उक्त आयोजनाको यो चरणको स्तरोन्नति निर्माण सम्पन्न भई उद्घाटन भएको हो ।
अब यसबाट ३४ हजार ३सय हेक्टर जमिनमा सिँचाइ सुविधा उपलब्ध हुनेछ । यसबाट यस क्षेत्रका करिब २३ हजार ६सय २२ घरधुरीका करिब १ लाख ४२ हजार ३ सय ६६ जनसंख्या प्रत्यक्ष लाभान्वित जलस्रोत तथा सिँचाइ विभागको तथ्यांक छ । त्यसबाहेक पूर्व पश्चिम राजमार्गको समानान्तर पश्चिमतर्फ जाने लम्की विस्तार सिँचाइ शाखा नहरबाट पथरैया नदी सम्मको थप करिब ६ हजार हेक्टर सिँचाइ सुविधा उपलब्ध जनाइएको छ ।यसका लागि हालसम्म साइड इन्टेकमा गेट अटोमेसन सहितका काम गरिएका छन् । डिसेटलिङ बेसिन र फिडर क्यानलको निर्माण सम्पन्न भएको छ । मूल नहरबाट रानी जमरा कुलरिया सिँचाइ प्रणालीमा सिँचाइ पानी प्रदान गर्ने व्यवस्था गरिएको छ । मूल नहरमा गेट जडानको कार्य सम्पन्न भएको छ । त्यसबाहेक १४ किलोमिटर लामो लम्की शाखा नहरको निर्माण गरिएको छ ।
आयोजना अन्तर्गत १२० किलोमिटर कृषि ग्रामीण सडक निर्माण भएको छ । पथरैया नदी, धोवेनी खोला एवं अन्य ठाउँहरू गरी २९.३५ किलोमिटर नदी नियन्त्रण कार्य र पथरैया नदीमा ३ वटा पुल निर्माण कार्य सम्पन्न भएको आयोजनाले जनाएको छ ।
तेस्रो चरणको स्तरोन्नतिपछि दीर्घकालमा भने कन्द्रा नदीसम्मको थप १५ हजार हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा विस्तारित गर्ने लक्ष्य लिइएको छ । थप २० हजार ३सय हेक्टर क्षेत्रफलमा सिँचाई हुनेगरी आयोजनाको निर्माण कार्य भने २०८५/८६ सम्म सम्पन्न गर्ने लक्ष्य राखिएको छ । यो पनि विश्व बैंकको ऋण सहयोगमा निर्माण हुन लागेको हो ।


















Discussion about this post