सार्थक ब्युरो।सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले आज प्रदेश सभाबाट विश्वासको मत लिँदै हुनुहुन्छ। नागरिक उन्मुक्ति पार्टीले सरकारबाट समर्थन फिर्ता लिएपछि शाह विश्वासको मत लिन बाध्य हुनुभएको हो।
प्रदेश सरकारमा सहभागी रहेका दलहरू नेपाली कांग्रेस र नेकपा (एमाले) ले मुख्यमन्त्री शाहको पक्षमा मतदान गर्न आफ्ना सांसदलाई ह्विप जारी गरेका छन्। नेकपा एमाले संसदीय दलको कार्यालयमा बिहीबार बसेको बैठकले आफ्ना सांसदलाई बैठकमा अनिवार्य उपस्थिति जनाई विश्वासको मतको प्रस्तावको पक्षमा मतदान गर्न निर्देशन दिएको छ। प्रमुख सचेतक चक्रबहादुर मल्लले सो जानकारी दिनुभयो।
यसैगरी, नेपाली कांग्रेस प्रदेश संसदीय दलले पनि सोमबार बसेको बैठकमा सर्वसम्मत रूपमा शाहको पक्षमा मतदान गर्ने निर्णय गर्दै ह्विप जारी गरेको छ।
हाल प्रदेश सभामा कांग्रेसका १८ र एमालेका ११ जना सदस्य छन्। दुवै दल मिलेर २९ सदस्यीय समर्थन रहेको अवस्थामा सरकारको बहुमत सुनिश्चित देखिन्छ। सुदूरपश्चिम प्रदेशमा बहुमतका लागि २७ मत आवश्यक पर्छ।
मुख्यमन्त्री शाहको नेतृत्वको सरकारलाई नागरिक उन्मुक्ति पार्टीले असारको तेस्रो साता समर्थन फिर्ता लिएपछि राजनीतिक तरलता देखिएको थियो। संविधानअनुसार सरकारको समर्थन फिर्ता भएलगत्तै मुख्यमन्त्रीले विश्वासको मत लिनुपर्ने व्यवस्था रहेको छ।
आजको मतदानले सुदूरपश्चिममा वर्तमान गठबन्धन यथावत् रहने वा नयाँ राजनीतिक समीकरण बन्ने भन्ने विषयमा स्पष्टता आउनेछ।








Discussion about this post