सार्थक ब्युरो। मानवसहित समग्र जैविक विविधताका लागि अत्यन्त संवेदनशील सिमसार क्षेत्रहरू कैलालीमा दिनप्रतिदिन मासिँदै गएका छन्। प्राकृतिक स्रोत र वातावरण सन्तुलनको मेरुदण्ड मानिने सिमसारहरूमा बढ्दो मानवीय हस्तक्षेप, चरम दोहन र अव्यवस्थित उपयोगका कारण संकट गहिरिँदै गएको छ।
डोजर चलाएर तालतलैयाको स्वरूप बिगार्ने, माछापालनको नाममा पोखरीमा परिणत गर्ने र स्थानीय तहले राजस्वको नाममा ठेक्का दिने कार्य व्यापक रूपमा बढेको छ। यस्ता गतिविधिहरूले सिमसारको मूल चरित्र नै नष्ट गर्दै लगेको सवडिभिजन वन कार्यालय भजनीका वन अधिकृत लालबहादुर विक बताउँछन्। “सिमसार क्षेत्र सुक्दै गइरहेका छन्, संरक्षण व्यवस्थापन चुनौतीपूर्ण बन्दैछ,” विकले भने।
सिमसार क्षेत्र भनेको जमिन नलुक्ने, पानी नसुक्ने दलदलयुक्त क्षेत्र हो, जहाँ खोल्सा, नाला, तालतलैयाहरूले पानी संचित गरेर जमिनभित्र पु¥याउने (रिचार्ज) भूमिका खेल्छन्। यस्ता क्षेत्रमा जलचर, चराचुरुङ्गी र रैथाने प्रजातिका जीवहरूको अस्तित्व निर्भर रहन्छ।
तर, हाल यिनै संवेदनशील स्थानहरूलाई स्थानीय सरकारले आम्दानीको स्रोतका रूपमा हेर्न थालेपछि समस्या गहिरिँदै गएको छ। तालतलैयालाई ठेक्का दिएर ठेकेदारहरूले मनपरी माछापालन गरिरहेका छन्, सिमसारको स्वरूपै नष्ट पारेर।
सामुदायिक वन उपभोक्ता महासंघ सुदूरपश्चिम प्रदेशकी अध्यक्ष झुमादेवी चौधरी भन्छिन्, “अबको सिमसार सिमसार भन्न लायक नै छैन। रैथाने प्रजाति हराउँदै गएका छन्।” उहाँका अनुसार कैलालीसहित सुदूरपश्चिमका धेरै जिल्लामा रहेका सिमसारहरू अब ‘प्राकृतिक’ नभएर ‘व्यवसायिक’ भएका छन्।
सामुदायिक वन समन्वय समिति भजनीका अध्यक्ष खोजराम चौधरी पनि स्थानीय सरकारको भूमिका प्रति असन्तुष्ट छन्। “पहिला सामुदायिक वन मातहतमा रहेका तालतलैया संरक्षण हुन्थ्यो, अहिले त पालिकाले ठेक्का दिएर आम्दानी मात्र हेर्छ,” उनले भने। कतिपय पालिकाले त ठेक्काको बक्यौता रकमसमेत उठाउन नसकेको तथ्य समेत चौधरीले बताए।
वन अधिकृत विक भन्छन्, “अब पनि चेतना नजागे, हाम्रो जैविक सम्पदा सिमसार हराउने मात्र होइन, पारिस्थितिक प्रणाली नै धराशायी हुने खतरा छ।” उनका अनुसार सिमसार संरक्षणमा स्थानीय सरकार, वन कार्यालय र सरोकारवाला निकायबीच समन्वय भएर गम्भीर पहल नहुँदा समस्या झन जटिल हुँदै गएको छ।
सिमसार कुनै डुबान क्षेत्र होइन, न त माछा पाल्ने पोखरी मात्र। यो प्रकृतिको संवेदनशील तन्त्र हो, जसले हामी सबैको जीवन प्रणाली चलायमान बनाउँछ। तर, त्यसको मूल्य बुझ्न सरकार र समाज दुवै असफलजस्तै देखिन्छन्।








Discussion about this post