सार्थक ब्युरो। पुर्नवास नगरपालिकामा भएको खुकुरी प्रहार घटनामा एक किशोर गम्भीर घाइते भएका छन्। जिल्लाको पुर्नवास नगरपालिका–५ स्थित ‘घ’ गाउँका १६ वर्षीय आयुष बोहरा दुई जनाको समूहबाट खुकुरी प्रहारमा परेका हुन्।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक (प्रनाउ) सागर बोहराका अनुसार गएराति पुर्नवास नगरपालिका–५ को ‘ग’ गाउँस्थित भानु युवा क्लबको खेल मैदानमा सामान्य भनाभनपछि आक्रमण भएको हो। घटनामा सोही स्थानका १६ वर्षीय रोहित टमटा र २० वर्षीय पर्वत सुनारले खुकुरी प्रहार गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
गम्भीर घाइते भएका बोहरालाई सुरुमा नजिकैको बिएन पोलिक्लिनिकमा सामान्य उपचार गरिएको थियो। थप उपचारका लागि उनलाई कैलालीको धनगढीस्थित निर्सग अस्पतालमा रेफर गरिएको छ। प्रनाउ बोहराका अनुसार घाइतेको अवस्था अहिले ‘मध्यम’ छ, तर थप निगरानी आवश्यक रहेको चिकित्सकहरूले बताएका छन्।
प्रहरीले घटनामा संलग्न रोहित टमटा र पर्वत सुनारलाई नियन्त्रणमा लिई अनुसन्धान थालेको छ। टमाटाको साथबाट प्रयोग गरिएको खुकुरी समेत बरामद गरिएको प्रहरीले जनाएको छ।
स्थानीय युवाबीचको सामान्य विवाद हिंसात्मक रूप लिँदा समाजमा त्रासको वातावरण बनिरहेको छ। प्रहरी स्रोतका अनुसार घटनाको विस्तृत अनुसन्धान जारी छ।








Discussion about this post