सार्थक ब्युरो। स्याउ पाक्ने मुख्य सिजनमा मार्तडी–कोल्टी सडक बन्द हुँदा बाजुराका किसानहरू चिन्तामा परेका छन्। जिल्लाको पूर्वी र उत्तरी क्षेत्र — हिमाली, स्वामिकार्तिक खापर, जगनाथ, बुढीनन्दा लगायतका क्षेत्रमा अहिले स्याउ पाक्ने समय भए पनि बजारसम्म पु¥याउने बाटो अबरुद्ध हुँदा किसानको बेचैनी बढेको हो।
बुढीनन्दा नगरपालिका निवासी स्याउ किसान मानबहादुर रावतले भन्नुभयो, “अब स्याउ टिप्ने बेला आयो, तर सडक नै बन्द छ। गाउँमा त बजार छैन, स्याउ शहर पुर्याउन सकिँदैन। यस्तो त विगतका वर्षहरूमा पनि भोगिसकेका छौँ।”
बर्षेनी असारदेखि भदौसम्मको समयमा मार्तडी–कोल्टी सडक पहिरो वा निर्माण ढिलाइका कारण अवरुद्ध हुने गरेकाले यो समस्या दोहोरिएको हो। स्याउ टिप्ने बेलामा नै यातायात अवरुद्ध हुँदा स्याउ कुहिने, घाटा हुने, बजारमा पुर्याउन सक्ने सम्भावना गुम्ने समस्या किसानले झेलेका छन्।
हाल हिमालीमा १८, स्वामिकार्तिकमा ३५, जगनाथमा ४५, बुढीनन्दामा ५०, खप्तड छेडेदहमा १ र बुढीगङ्गा नगरपालिकामा १ गरी करिब १५० परिवारले स्याउ खेती गर्दै आएका छन्। गौमुल गाउँपालिकामा पनि किसानहरूले समूह बनाएर स्याउखेती थालेका छन्।
आर्थिक वर्ष २०८१/८२ मा बाजुरामा करिब १६ सय मेट्रिक टन स्याउ उत्पादन भएको थियो। त्यसमध्ये ५१५ क्विन्टल स्याउ जिल्लाबाहिर पठाइएको थियो। किसानहरूले त्यसबाट ७०–८० लाख रुपैयाँ आम्दानी गरेको कृषि कार्यालयको तथ्यांक छ।
बाजुरामा फुजी, गोल्डेनरेड, डेलिसियस र स्थानीय जातको स्याउ राम्रो उत्पादन हुने गरेको छ। हाल ४१० हेक्टर जमिनमा स्याउ खेती हुँदै आएको छ भने दुई हेक्टर जमिनमा उत्पादन सुरु भइसकेको कृषि ज्ञान केन्द्र बाजुराका प्रमुख जसिराम साहनीले बताए।
तर, प्रमुख समस्या भनेको ढिलासु सडक निर्माण हो। मार्तडी–कोल्टी सडक खण्डमा २०७६ सालमा ठेक्का सम्झौता भएको भए पनि अहिलेसम्म काम अधुरै छ। मार्तडी बसपार्कदेखि चुथी ९ किलोमिटर सडकको जिम्मा लिएको धुलिखेल ग्वाल्भा श्याम एण्ड शङ्कर प्रालिले २३ करोडको ठेक्कामा कालोपत्रे गरिसकेको भए पनि चुथी–कोल्टी खण्ड (३१ किलोमिटर) अझै अधुरै छ।
यो खण्डको जिम्मा ६२ करोडमा बाँनिया कोटेश्वर जेभी प्रालिले लिएको हो। ती कम्पनीहरूले करिब ३५ करोडको पहिलो किस्ता रकम भुक्तानी भइसकेको भए पनि काम भने सुस्त गतिमा भइरहेको छ।
यसैबीच, वर्षात्का कारण पहिरो जाँदा सडक थप अवरुद्ध भएको छ। सडक सफा गरेर यथाशीघ्र सञ्चालन गर्ने प्रयास भइरहेको भौतिक पूर्वाधार विकास कार्यालय अछामका प्रमुख जङ्गबहादुर थापाले बताएका छन्।
सडक चाँडै खुल्ने आशा गरे पनि किसानमा भने वर्षेनि उही समस्या दोहोरिने हो कि भन्ने चिन्ता गहिरिँदै गएको छ।








Discussion about this post