कर्ण बहादुर चन्द
कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको ६ वर्ष नाघिसकेको छ। दोषी पहिचान र कारबाहीमा राज्य पूर्णतः असफल बनेको छ। यसबीचमा पटक–पटक सरकार फेरिए, मन्त्री फेरिए, तर निर्मलाका हत्याराहरू अझै पनि ‘अज्ञात’ छन्। यसै सन्दर्भमा पछिल्लो पटक गृहमन्त्री रमेश लेखकले केन्द्रीय अनुसन्धान ब्युरो (CIB) लाई नयाँ शिराबाट अनुसन्धान सुरु गर्न निर्देशन दिएका छन्।
यो निर्देशन सामान्य सूचना होइन — यसको गहिरो राजनीतिक र नैतिक पृष्ठभूमि छ। मन्त्री लेखक सत्ता बाहिर हुँदा बारम्बार सार्वजनिक रूपमा भन्दथे, “निर्मलाका हत्यारा सिंहदरबारमै छन्।” उनीहरु प्रत्यक्ष रूपमा राज्यसंयन्त्रभित्रै भएको संकेत गर्थे। तर आज उनी स्वयं त्यही सिंहदरबारको गृह मन्त्रालय सम्हालिरहेका छन्। यति हुँदा पनि किन हत्यारा समातिएका छैनन् ?
यो दोहोरो चरित्रप्रति जनताले तीव्र आक्रोश व्यक्त गर्न थालेका छन्। एकातिर, गृहमन्त्री लेखक अनुसन्धानलाई नयाँ दिशा दिने घोषणामा व्यस्त छन्, अर्कातिर ६ वर्षसम्म नछोइएका गम्भीर प्रमाणहरू र निष्कर्षरहित अनुसन्धान प्रक्रिया जनताको आँखामा झनै सन्देहास्पद देखिन थालेको छ।
गृह मन्त्रालयद्वारा आयोजित सिआईबी निरीक्षण कार्यक्रमका क्रममा गृहमन्त्री लेखकले ब्युरोलाई तीव्र र प्रभावकारी अनुसन्धान गर्न निर्देशन दिए। उनले सिआईबीप्रति जनविश्वास बढेकाले दोषी पहिचानमा सफल हुनुपर्ने बताए। उनले सिआईबीलाई प्रविधिमा सशक्त बनाउने र स्रोतसाधन बढाउने प्रतिबद्धता पनि दोहोर्याए।
तर विडम्बना, यिनै गृहमन्त्री सत्ता बाहिर रहँदा ‘हत्यारा त राज्यकै संरक्षणमा छन्’ भन्ने अभिव्यक्ति दिइरहेका थिए। त्यही मन्त्री आज राज्य संयन्त्रकै सर्वोच्च सुरक्षा जिम्मेवारीमा रहेर किन हत्यारालाई कानुनी दायरामा ल्याउन असमर्थ छन् ?
विगत ६ वर्षमा निर्मला प्रकरणले सिंगो राज्य संयन्त्रप्रतिको जनविश्वास खस्क्याएको छ। सिआईबी, प्रदेश प्रहरी, अनुसन्धान समितिहरू, सबै निष्कर्षमा पुग्न असफल भए। यो पृष्ठभूमिमा गृहमन्त्री लेखकको नयाँ निर्देशन एक किसिमको ‘पुनरावृत्ति’ जस्तो लाग्दछ, जुन न त नयाँ छ, न त प्रभावकारी हुने सम्भावना देखिन्छ।
राजनीतिक दायित्व लिने संस्कार नभएको मुलुकमा, हरेक गृह मन्त्री यो प्रकरणलाई ‘अनुसन्धानको नयाँ ढोका’ भनेर प्रयोग गर्न थालेका छन्। निर्मलाका हत्यारा अझै उम्किनुमा राजनीतिक मिलेमतो, अनुसन्धानप्रतिको उदासीनता, र दोषी संरक्षणको संस्कृति मुख्य कारक हुन् भन्ने धारणा गहिरिंदै गएको छ।
गृहमन्त्री लेखकले निर्देशन दिएका हुन्, तर जनताले प्रश्न गरिरहेका छन्— “निर्देशन मात्र होइन, परिणाम कहिले ?” यदि सिंहदरबारमै हत्यारा छन् भन्ने बुझाइ थियो भने आज त्यो ‘सिंहदरबार’को मन्त्री बन्नासाथ मौनता किन? आखिर यो ‘निर्मला प्रकरण’ हो कि ‘राजनीतिक अभिनय’?
यस पटक सरकारले अनुसन्धानमा देखाएको सक्रियता नाटक हो कि निष्पक्ष न्यायप्रतिको संकल्प, त्यसको प्रमाण अब कामले नै दिनुपर्नेछ। अन्यथा निर्मला पन्त मात्र होइन, सिंगो राज्यप्रणाली नै अविश्वासको गहिरो खाडलमा झनै डुब्नेछ।









Discussion about this post