कञ्चनपुरमा ३९ वटा छाउगोठ भत्काइए

सार्थक ब्युरो।कञ्चनपुर जिल्लामा छाउपडी प्रथाअन्तर्गत निर्माण गरिएका ३९ वटा छाउगोठ भत्काइएका छन्। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सागर बोहराका अनुसार बेदकोट नगरपालिका–१० मा २३ वटा र कृष्णपुर नगरपालिका–१ मा १६ वटा छाउगोठ भत्काइएको हो। यी गोठहरू निगाली र भेन्टी बजार क्षेत्रमा थिए।स्थानीय जनप्रतिनिधि, सङ्घ–संस्था, प्रहरी तथा बासिन्दाको उपस्थितिमा उक्त गोठहरू भत्काइएको हो। गत असारमा कृष्णपुर–१, निगालीकी २८ वर्षीया कमला दमाईको छाउगोठमै सुतिरहेको बेला सर्पको टोकाइबाट मृत्यु भएपछि जिल्ला प्रशासन कार्यालयले सबै स्थानीय तहलाई छाउगोठ भत्काउन निर्देशन दिएको थियो।

बेदकोट–१० का वडाध्यक्ष रतनसिंह विष्टका अनुसार वडा ४ र १० ले २३ वटा छाउगोठ भत्काइसकेका छन्। उनले भने, “हामीले गोठ भत्काएका छौं, तर फेरि बनाइहाल्छन् कि भन्ने चिन्ता छ। त्यसैले अभिमुखीकरण कार्यक्रमको तयारी गर्दैछौं।” उनका अनुसार कुरीति अन्त्य गर्न समुदायलाई निरन्तर सचेत गराउन आवश्यक छ।

उता, कृष्णपुर–१ का वडाध्यक्ष मोहन बस्नेतले भने, “आज मात्रै १६ वटा छाउगोठ भत्काएका छौं। अहिले स्थानीय सचेत भएका छन्, पहिलेजस्तो अवरोध छैन।” गत वर्षदेखि नै अभियान सुरु भए पनि केही स्थानीयको अवरोधका कारण रोकिएको थियो। तर कमला आउजीको सर्पदंशबाट मृत्यु भएपछि नगरपालिकाले १५ दिनभित्र छाउगोठ नहटाए कानुनअनुसार कारबाही र रु १० हजार जरिवाना गर्ने चेतावनी दिएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित