सार्थक ब्युरो।शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा संरक्षणमा रहेका दुर्लभ वन्यजन्तु कृष्णसारको संख्या विगत एक दशकयता निरन्तर बढिरहेको छ। पुनःस्थापना गरिएको १० वर्षमै संख्या बढेर ३१० पुगेको निकुञ्जले जनाएको छ। यसमध्ये ११७ भाले, १४३ पोथी र ५० पाठापाठी रहेका छन्। भालेमा ९३ वयस्क र २४ अर्धवयस्क छन् भने पोथीमा ९९ वयस्क र ४४ अर्धवयस्क रहेका छन्।निकुञ्जको हीरापुर फाँटमा ५८.८ हेक्टर क्षेत्रफलमा तारबार गरेर विशेष संरक्षण गरिएको छ। सुरुवाती चरणमा सन् २०१२ मा ७.५ हेक्टर मात्र तारबार गरिए पनि क्रमशः विस्तार हुँदै २०१९ सम्ममा हालको क्षेत्रफल पुगेको हो।
निकुञ्जका सूचना अधिकारी पुरुषोत्तम वाग्लेका अनुसार, संख्या बढेसँगै व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएको छ। कृष्णसारलाई निकुञ्जकै अन्य फाँटमा खुला छाड्ने वा सुरक्षित क्षेत्रमा स्थानान्तरण गर्ने विषयमा अध्ययन भइरहेको छ। वर्निखेडा लगायतका क्षेत्रमा प्राकृतिक रूपमा छाड्ने सम्भाव्यता र चितवन राष्ट्रिय निकुञ्जमा पुनःस्थापना गर्ने प्रस्ताव पनि छलफलमा रहेको उनले जानकारी दिए।
तथ्याङ्कअनुसार, सन् २०१३ मा ३१ रहेको संख्या सन् २०२४ मा २८७ पुगेको थियो, र हाल ३१० मा पुगेको छ। यो वृद्धि २०६९ साल भदौमा नेपालगञ्ज र ललितपुरको चिडियाखाना तथा २०७२ साल वैशाखमा बर्दियाको खैरापुरबाट ल्याइएका जम्मा ४२ कृष्णसारको संरक्षण प्रयासको परिणाम हो।
कृष्णसारको स्वास्थ्य र पोषणका लागि दाना, ढुटो, चोकर, मकै, चना आदि खुवाइन्छ। समय–समयमा जुका र किर्ना जस्ता परजीवी नियन्त्रणका लागि दानामा औषधि मिसाइन्छ।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ अनुसार संरक्षित सूचीमा पर्ने कृष्णसार एन्टिलोप प्रजातिको जनावर हो, जसको भाले कालो र पोथी खैरो हुन्छन्। घाँसे फाँटमा बस्न मन पराउने यी जनावरले छ–छ महिनामा बच्चा जन्माउँछन्।
हाल शुक्लाफाँटा क्षेत्रमा आन्तरिक पर्यटकको आवागमन पनि बढ्दै गएको छ। कृष्णसारको झुण्ड हेर्न र तिनको प्राकृतिक बासस्थान अवलोकन गर्न धेरै पर्यटक यहाँ पुग्ने गरेका छन्।-रासस


















Discussion about this post