सार्थक डेस्क।तीज नेपाली समाजमा धार्मिक आस्था मात्र होइन, सांस्कृतिक उत्सवको पनि प्रतीक हो। चेलीबेटीले माइतीघरमा दर खाने र भोलिपल्ट व्रत बस्ने परम्परा पुस्तौंदेखि चलेको संस्कार हो। दरमा खीर, पुरी, आलु–अचार, ढकनी, चाम्रे जस्ता परिकार खाने चलनले नारीको मायाममता र सम्बन्धलाई अझ प्रगाढ बनाउँछ। परम्परा यसैमा रमाइलो गर्छ।तर प्रश्न उठ्छ—के परम्परा जस्तै स्वास्थ्य पनि हाम्रो प्राथमिकतामा परेको छ त ?
दर खाने संस्कार आफैंमा चाडपर्वको खुसी र ऐक्यबद्धताको प्रतीक हो। पारिवारिक भेटघाट, माया–स्नेह, र सांस्कृतिक निरन्तरताले यसलाई अमूल्य बनाएको छ। व्रत बस्नुअघि शक्ति दिने परम्परागत परिकारहरू पोषणका हिसाबले पनि लाभदायी छन्। यही कारण त दरलाई “ऊर्जा दिने परिकार” को रूपमा लिइन्छ।
तर पछिल्ला वर्षहरूमा यो संस्कार आफ्नो मौलिक स्वरूपभन्दा टाढिँदै गएको छ। दर खाने कार्यक्रम अब एक दिनमा मात्र सीमित छैन, महिना दिन अघिदेखि पार्टी–दर, क्लब–दर गर्ने प्रचलन बढेको छ। यस क्रममा अत्यधिक चिल्लो, गुलियो, प्रशोधित खाना खाने चलनले मोटोपन, उच्च रक्तचाप, मधुमेह, मुटुका समस्या जस्ता दीर्घ रोगलाई निम्त्याउने गरेको पोषणविद्हरूको चेतावनी छ।
त्यति मात्र होइन, व्रत बस्दा पानीसमेत नखाने निराहार प्रथा स्वास्थ्यका लागि खतरनाक मानिन्छ। गर्भवती, दीर्घरोगी र वृद्धवृद्धाले यसरी व्रत बस्दा बेहोस हुने, कमजोरी, पेटका समस्या देखिने सम्भावना धेरै हुन्छ।
संस्कारलाई नछोडी स्वास्थ्य जोगाउने बाटो भने छ। दर खाँदा सन्तुलित परिकार रोज्ने, अत्यधिक प्रशोधित खाना त्याग्ने, र व्रतलाई अत्यधिक कठोर नबनाउने अभ्यासले संस्कारलाई पनि निरन्तरता दिन्छ र स्वास्थ्यलाई पनि सुरक्षित राख्छ।
तीज केवल उत्सव होइन, सामाजिक ऐक्यबद्धता र सांस्कृतिक पहिचान हो। तर संस्कारको नाममा शरीरलाई रोगतर्फ धकेल्नु विवेकसम्मत होइन। संस्कारलाई जोगाउँदै स्वास्थ्यलाई प्राथमिकतामा राख्ने हो भने परम्परा र स्वास्थ्य दुवैलाई सन्तुलनमा लैजान सकिन्छ।


















Discussion about this post