सार्थक ब्युरो। ७८ लाख घुस ‘डिल’ अडियो प्रकरणमा संलग्न रहेका तत्कालीन संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्तामाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गर्ने तयारी गरेको छ।सार्वजनिक भएको अडियो र त्यसको प्राविधिक परीक्षणपछि अडियो गुप्ताकै भएको पुष्टि भएको आयोग स्रोतले जनाएको छ। अडियोमा देखिएका संवाद, रकम मिलाउने तरिका र अन्य परिस्थितिजन्य प्रमाणले गुप्तालाई प्रत्यक्ष संलग्न देखाएको भन्दै अख्तियारले उहाँलाई बयानका लागि बोलाएर छानबिन तीव्र पारेको छ।
अडियो सार्वजनिक भएपछि गुप्ता व्यापक आलोचनामा परेका थिए र तीव्र दबाबका कारण मन्त्री पदबाट राजीनामा दिनुपरेको थियो। तर प्रारम्भिक अनुसन्धानमै अडियोको प्रामाणिकता पुष्टि भएपछि अख्तियारले अब उहाँलाई कानुनी कारबाहीतर्फ अघि बढाउने तयारी गरेको हो।
अख्तियार दुरुपयोग निवारण ऐन, २०४८ अनुसार मुद्दा चलाइएमा गुप्तालाई जेल सजायसहित जरिवानाको सजाय हुनसक्ने कानुनी प्रावधान छ।
यो प्रकरण केवल व्यक्तिगत भ्रष्टाचारको मामिला मात्र नभई अख्तियारकै लागि ठूलो परीक्षणका रूपमा हेरिएको छ। उच्च पदमा बसेर घुस ‘डिल’मा संलग्न भएको प्रमाणित हुनु नेपाली राजनीति र प्रशासनमा पुनः ठूलो बहसको विषय बनेको छ।








Discussion about this post