सार्थक ब्युरो।पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले तीज पर्वले चेली र माइती बीचको आत्मीयता, परिवार र साथी–सङ्गी बीचको न्यानो सम्बन्ध तथा समाजभित्रको भावनात्मक एकतालाई अझ प्रगाढ बनाउन महत्वपूर्ण भूमिका खेल्ने भन्दै शुभकामना व्यक्त गरेकी छन् ।
उनले शुभकामना सन्देश जारी गर्दै हरितालिका तीज पर्वले हाम्रो जीवनशैली, संस्कृति र सहिष्णुताको उज्ज्वल परम्परा बोकेको उल्लेख गरेकी छन् ।‘विवाहपश्चात् महिलाले जन्मघर छोडेर कर्मघरमा जीवन बिताउँदा उत्पन्न हुने भावनात्मक दूरीलाई कम गर्ने अवसरका रूपमा पनि तीजलाई लिइन्छ । यस पर्वले चेली र माइती बीचको आत्मीयता, परिवार र साथी–सङ्गी बीचको न्यानो सम्बन्ध तथा समाजभित्रको भावनात्मक एकतालाई अझ प्रगाढ बनाउन महत्वपूर्ण भूमिका खेल्दछ’, सन्देशमा भनिएको छ ।
यसैगरी, तीज पर्वलाई लैङ्गिक समानता र महिला सशक्तीकरणको लागि सामाजिक जागरण तथा सचेतना अभिवृद्धि गर्ने महत्वपूर्ण मञ्चका रूपमा समेत लिन सकिने उल्लेख छ ।‘महिलामाथि हुने विभेद, हिंसा र कुरीतिहरूको अन्त्य गर्दै समतामूलक समाजको निर्माण गर्ने प्रेरणा समेत यस पर्वले दिन्छ भन्ने मैले विश्वास लिएको छु’, सन्देशमा भनिएको छ ।त्यस्तै, पूर्वराष्ट्रपति भण्डारीले पछिल्ला वर्षहरूमा तीज पर्व मनाउने क्रममा देखिएको केही भड्किलोपन र खर्चिलोपन चिन्ताको विषय बनेको बताउँदै सबैले यस पर्वसँग गाँसिएका धार्मिक र सांस्कृतिक मूल्यहरूलाई संरक्षण गर्दै, समाजमा देखिने विकृति र विसङ्गतिलाई हटाउन प्रयास गर्नु आवश्यक रहेको उल्लेख गरिन् ।









Discussion about this post