सार्थक ब्युरो।सुदूरपश्चिम प्रदेशको प्रमुख स्वास्थ्य संस्था सेती प्रादेशिक अस्पताल चार महिनादेखि नेतृत्वविहीन बनेको छ। यसले अस्पतालको नीतिगत निर्णय प्रक्रिया प्रभावित पारेको छ।अस्पताल विकास समिति अध्यक्ष निर्मल शाहको कार्यकाल गत चैत ७ गते सकिएपछि नयाँ अध्यक्षको नियुक्ति हुन सकेको छैन। यस कारण अस्पतालमा नियमित बैठक, कर्मचारी भत्ता वितरण, करार कर्मचारीको म्याद थपलगायतका कार्यमा अन्योलता देखिएको छ।
सामाजिक विकास मन्त्री मेघराज खड्काले विकास समितिको अभावमा अस्पतालबाट नीतिगत समस्या आएकोबारे मौखिक जानकारी आएको स्वीकार गर्नुभयो। उहाँले नौ वटै जिल्ला अस्पताल विकास समितिमा पदाधिकारी नियुक्त गर्ने काम केही दिनमै हुने दाबी गर्नुभयो।
अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. हेमराज पाण्डेका अनुसार, प्रशासनिक सेवा भने सञ्चालनमा रहे पनि नीतिगत निर्णय र नयाँ योजना निर्माणमा प्रत्यक्ष असर परेको छ। उहाँले “समन्वयात्मक भूमिका निर्वाह गर्ने समिति नभएकाले समस्या समाधानमा कठिनाइ भएको” बताउनुभयो।
त्यस्तै, सूचना अधिकारी किशोर श्रेष्ठले अस्पतालको भौतिक, आन्तरिक तथा बाह्य व्यवस्थापनको काम समेत प्रभावित भएको जानकारी दिनुभयो।
हाल सुदूरपश्चिम प्रदेशका नौ जिल्लाका अस्पतालहरू नै नेतृत्वविहीन अवस्थामा रहेका छन्, जसले सम्पूर्ण स्वास्थ्य प्रणालीमै चुनौती थपेको देखिन्छ।








Discussion about this post