सुदूरपश्चिममा गौरा पर्वको रौनक सुरु

सार्थक ब्युरो।सुदूरपश्चिमको प्रमुख सांस्कृतिक तथा धार्मिक पर्व गौरा यस वर्ष भदौ १२ गतेदेखि सुरु हुने भएको छ। बिरुडा पञ्चमीका दिन पाँच प्रकारका अन्न भिजाएर पर्वको औपचारिक सुरुवात हुने परम्परा रहिआएको छ।

सांस्कृतिक विश्लेषक पण्डित धर्मानन्द जाेशीका अनुसार, गहुँ, गहत, मास, गुरौँस र केराउ मिसाएर बिरुडा बनाइन्छ र तामाको भाँडामा भिजाएर गौरादेवी र महेश्वरको पूजा गरिन्छ।

ज्याेतिष मुरलीधर जाेशीका अनुसार यस वर्षको गौरा भाद्र शुक्ल पक्षमा परेको छ। शुक्ल पक्षमा परेको गौरालाई “उज्याली गौरा” भन्ने चलन छ भने कृष्ण पक्षमा परेमा “अँधेरी गौरा” भनिन्छ।

गौरा पर्वमा विवाहित महिलाले विशेषगरी गौराधागो (दुबधागो) धारण गर्ने परम्परा छ। यसलाई पारिवारिक समृद्धि, दीर्घायुष्य र सुख–शान्तिको प्रतीक मानिन्छ।

गौराको मुख्य दिन दुर्वाष्टमी (अठ्यावाली) भदौ १५ गते पर्छ। यस दिन व्रतालु महिलाले गाउँको गौरा खलामा गौरादेवीको पूजा गरी फागसगुन गीत गाउने परम्परा छ। गाउँघर यिनै गीतले रमाइलो र उल्लासपूर्ण बन्छ।

भिमदत्त नगरपालिका २की नन्दा जाेशीका अनुसार, “बिरुडा चढाएर देवीको पूजा गर्ने, साँवा र अपामार्ग जस्ता वनस्पतिबाट देवीको प्रतिमूर्ति बनाउने, षष्ठीका दिन भिजाएको अन्न कुवा वा धारामा धोएर सप्तमीका दिन गौरालाई घरभित्र्याउने चलन अझै कायम छ।”

अठ्यावालीको दिन गौरादेवीको पूजा गरी प्रसादस्वरूप बिरुडा श्रीमान, छोराछोरी तथा आफन्तजनलाई टाउकोमा राख्ने प्रचलन छ। यसलाई लामो आयु, आरोग्य र धनधान्य प्राप्तिको कामनासँग जोडिएको मानिन्छ।

गौरा पर्वपछि गाउँघरमा ठाडो खेल, ढुस्को, धमारी जस्ता परम्परागत खेल खेल्ने चलन अझै जीवित छ। यसले गाउँलाई अझै रमाइलो र सामूहिक बनाउँछ।

गौरा नजिकिँदै जाँदा गाउँघरमा रौनक बढेको छ। परदेशमा रहेका युवाहरु बिदा मिलाएर घर फर्कन थालेका छन्। भिमदत्त नगरपालिका २कीकाैशील्या पन्त भन्छिन्, “चाडपर्वमा मात्रै गाउँमा रमाइलो हुन्छ, बाँकी समय गाउँ सुनसान लाग्छ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित