वासिङ्टन।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले विदेशी विद्यार्थी र पत्रकारको संयुक्त राज्य अमेरिकामा बस्ने समय सीमित गर्ने नयाँ नियम ल्याएको छ।प्रस्तावित परिवर्तनअनुसार अब विदेशी विद्यार्थीले विद्यार्थी भिसामा चार वर्षभन्दा बढी बस्न पाउने छैनन्। त्यस्तै, विदेशी पत्रकारलाई २४० दिनमात्र बसाइको अनुमति दिइनेछ। आवश्यक परे थप २४० दिन समयावधि बढाउन सक्ने भए पनि, विशेषगरी चिनियाँ पत्रकारलाई भने ९० दिनको मात्र भिसा दिइने व्यवस्था गरिएको छ।
यसअघि विद्यार्थी वा पत्रकारलाई उनीहरूको शैक्षिक कार्यक्रम वा कार्यकालअनुसार भिसा दिने चलन थियो। तर, ‘डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटी’ले अघिल्ला प्रशासनले विदेशीलाई अनिश्चितकाल बस्न दिएका कारण सुरक्षा जोखिम बढेको र अमेरिकी करदातामाथि अनावश्यक खर्च भएको दाबी गरेको छ।
यद्यपि, तथ्याङ्कले फरक तस्बिर देखाउँछ। अमेरिकी वाणिज्य विभागका अनुसार सन् २०२३ मा मात्रै अन्तर्राष्ट्रिय विद्यार्थीहरूले ५० अर्ब डलरभन्दा बढी योगदान अमेरिकी अर्थतन्त्रलाई पुर्याएका थिए। अमेरिका हालैको शैक्षिक वर्षमा ११ लाखभन्दा बढी अन्तर्राष्ट्रिय विद्यार्थी भित्र्याएको छ, जुन विश्वकै उच्च सङ्ख्या हो।
शिक्षा क्षेत्रका प्रतिनिधिहरूले यस कदमलाई अनावश्यक प्रशासनिक अवरोध भन्दै आलोचना गरेका छन्। ‘प्रेसिडेन्ट्स एलायन्स’का अध्यक्ष मिरियम फेल्डब्लमका अनुसार, “यो नियमले विश्वभरका प्रतिभाशाली विद्यार्थीलाई अमेरिका भन्दा अन्यत्र जान प्रेरित गर्नेछ, जसले अमेरिकी विश्वविद्यालयको प्रतिस्पर्धात्मक क्षमता कमजोर पार्छ।”
ट्रम्प प्रशासनको यस निर्णयले विशेष गरी विश्वविद्यालयहरूलाई थप दबाब दिएको छ। अहिल्यै पनि अन्तर्राष्ट्रिय विद्यार्थीहरूको भर्ना घटेको रिपोर्ट आउँदो बेलामा यो नियम लागू भए अझ ठूलो असर पर्ने चेतावनी दिइएको छ।
अघिल्लो कार्यकालको अन्त्यतिर ट्रम्पले पत्रकार भिसा छोट्याउने प्रस्ताव अघि सारेका थिए तर उत्तराधिकारी जो बाइडेनले त्यो खारेज गरेका थिए। तर अहिले फेरि ट्रम्प प्रशासनले विदेशी विद्यार्थी र पत्रकारप्रति कठोर नीति लिएको देखिन्छ।-रासस र एएफपी


















Discussion about this post