सार्थक ब्युरो।सुदूरपश्चिममा दुई ठूला जिप दुर्घटना भएका छन्। डडेल्धुराको नवदुर्गा गाउँपालिका–५ चौडमा भएको जिप दुर्घटनामा चार जनाको मृत्यु भएको छ भने बैतडी सदरमुकाम नजिकै अर्को जिप दुर्घटनामा १२ जना घाइते भएका छन्।बिहीबार बिहान करिब ८ बजे ठाँटा बजारबाट सदरमुकाम डडेल्धुरा आउँदै गरेको से १ ज ७३८ नम्बरको जिप कच्ची सडकबाट करिब ५०० मिटर तल खसेपछि एकै वडाका चार जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ।मृत्यु हुनेमा नवदुर्गा गाउँपालिका–५ का १८ वर्षीय सुरेश साउद, २३ वर्षीय सुरेश पार्की, ४० वर्षीय तारा अवस्थी र ७२ वर्षीय कलावती साउद रहेका छन्।
दुर्घटनामा परी घाइते हुनेमा सोही वडाका १८ वर्षीया सुशीला विक, ४४ वर्षीय प्रकाश विक, ४८ वर्षीय चन्द्रबहादुर साउद, ३५ वर्षीय रामबहादुर साउद, ४२ वर्षीय गणेशबहादुर साउद र वर्ष ४ की प्रतिका पार्की छन्। उनीहरूको उपचार भईरहेको प्रहरीले जनाएको छ।
त्यसैगरी, बुधबार दिउँसो २:१५ बजे गोठालापानीबाट पाटन नगरपालिका–८ खोड्पेतर्फ जाँदै गरेको से १ ज २४५ नम्बरको बोलेरो जिप इश्वरीगङ्गाधाम जाने बाटो नजिक दुर्घटनामा परेको हो।जिप सडकबाट करिब ३० मिटर तल खस्दा १२ जना घाइते भएका छन्, जस मध्ये तीन जनाको अवस्था गम्भीर छ। घाइतेहरूको उद्धार गरी जिल्ला अस्पताल बैतडी लगिएको प्रहरी निरीक्षक बलदेव बडुले जानकारी दिनुभयो।दुर्घटनापछि जिप चालक रोशन भट्टलाई नियन्त्रणमा लिइएको र विस्तृत अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।








Discussion about this post