सार्थक ब्युरो।सुदूरपश्चिम प्रदेशको मौलिक चाड गौरा पर्व आजदेखि औपचारिक रूपमा सुरु भएको छ। परम्परा अनुसार, पहिलो दिन व्रतालु महिलाले पाँच प्रकारका अन्न तथा गेडागुडी मिसाएर बिरुडा भिजाउने चलन रहिआएको छ। यही कारण आजको दिनलाई बिरुडा पञ्चमी पनि भनिन्छ।
गाईको गोबरले लिपिएको तामाको भाँडामा दुबो र अक्षता सिँगारी भित्र बिरुडा राखिन्छ, जसलाई गौरादेवीको प्रसादका रूपमा लिइन्छ। यसैलाई भोलिपल्टको पूजामा प्रयोग गर्ने गरिन्छ।
गौरा पर्वका जानकार नन्दा जोशीका अनुसार, पुत्रदा एकादशीको व्रतपछि भदौको बिरुडा पञ्चमीदेखि गौरा पर्व सुरु हुने परम्परा छ। उहाँले भन्नुभयो,
“गौरा पर्व सुरु हुनु एक महिनाअघि नै शुद्ध शाकाहार र ब्रह्मचर्यको पालना गर्नुपर्छ। बिरुडा भिजाउँदा मागल गीत गाउँने चलन छ।”यस पर्वमा महिलाले पुरुषको व्रतबन्ध जस्तै गरी दुवधागो (यज्ञोपवित) लगाउने प्रचलन छ।
“गौरा हाम्रो ठूलो पर्व हो। यसमा महिलाले पनि दुवधागो लगाउँछन्। व्रत बसेर पूजा गर्दा श्रीमान् तथा परिवारका सदस्य निरोगी, दीर्घायु र घरमा सुख–समृद्धि हुन्छ भन्ने विश्वास छ,” जोशीले बताउनुभयो।
गौरा सुरु भएसँगै गाउँ–गाउँमा देउडा खेल सुरु हुने गर्छ। धार्मिक मान्यताअनुसार हिमालयकी पुत्री पार्वती, भगवान् शिवकी अर्धाङ्गिनीका रूपमा, गौरादेवीलाई यस पर्वमा विशेष पूजा–अर्चना गरिन्छ।








Discussion about this post