सार्थक ब्युरो।सुदूरपश्चिम प्रदेशमा विपत् प्रतिकार्य योजना यसैसम्म तयार नभएको छ। वर्षको मनसुन उत्तरार्धतर्फ पुग्दै गर्दा पनि प्रदेश सरकारले अहिलेसम्म योजना स्वीकृत गर्न सकेको छैन।
विपत् प्रतिकार्य योजना तयार पार्नुपर्ने उद्देश्य प्रदेशवासीलाई मनसुनजन्य बाढी, पहिरो र अन्य प्राकृतिक विपतिबाट जोगाउनु, उद्धार, खोज, राहत र पुनःस्थापनाका काम व्यवस्थित गर्नु हो। प्रत्येक वर्ष सकेसम्म मनसुन सुरु हुनु अघि योजना तयार गर्ने चलन छ।
तर, बाढी–पहिरो जस्ता प्राकृतिक जोखिम उच्च रहेको सुदूरपश्चिम प्रदेशमा योजना बनाउन ढिलाइ भइरहेको छ। आन्तरिक मामिला तथा कानुन मन्त्रालयका प्रवक्ता उपसचिव आमोद दाहालका अनुसार, मन्त्रालयका सचिव सरुवा लगायतका कारणले केही ढिलाइ भइरहेको छ ।
उहाँले भन्नुभयो, “विपत् प्रतिकार्य योजनाका सबै डकुमेन्ट तयार छन्, तर अझै स्वीकृत भएको छैन। अबको एक हप्ताभित्रै स्वीकृत हुने अपेक्षा छ।”
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले यस वर्ष सुदूरपश्चिममा सरदरभन्दा बढी वर्षा हुने सम्भावना ४५–५५ प्रतिशत रहेको प्रक्षेपण गरेको थियो। यद्यपि अहिलेसम्म त्यस्तो वर्षा भएको छैन। पानी नपरेको कारण किसानहरूले धान खेतमा बोरिङ प्रणालीबाट सिँचाइ गर्न थालेका छन्।
प्रदेशको कैलाली र कञ्चनपुर बाढीको उच्च जोखिममा रहेको छ भने पहाडी सात जिल्लामा पहिरोको समस्या रहँदै आएको छ। बर्सेनि बाढी–पहिरोले जनधनको क्षति गर्दै आएको भए पनि यस वर्ष हालसम्म विपत्ति कम परेको छ।








Discussion about this post