काबुल । पाकिस्तान नजिकै पूर्वी अफगानिस्तानमा आइतबार राति गएको शक्तिशाली भूकम्पले गाउँ–सहर ध्वस्त पारेको छ। यस विपत्तिमा कम्तीमा २५० जनाको ज्यान गएको र ५०० भन्दा बढी घाइते भएको अधिकारीहरूले जनाएका छन्। उद्धार टोलीहरू प्रभावित क्षेत्रमा पुगेका कारण मृतक र घाइतेको सङ्ख्या अझै बढ्ने अनुमान गरिएको छ।
अमेरिकी भूगर्भीय सर्वेक्षण (USGS) का अनुसार ६.० म्याग्निच्युडको भूकम्प राति ११ः४७ बजे नङ्गरहार प्रान्तको जलालाबाद शहरदेखि करिब २७ किलोमिटर पूर्व–उत्तरपूर्वमा केन्द्रित थियो। भूकम्पको गहिराइ केवल आठ किलोमिटर भएकाले क्षति अत्यधिक भएको जनाइएको छ।
कुनार विपद् व्यवस्थापन प्राधिकरणका अनुसार नुर गुल, सोकी, वटपुर, मनोगी र चापडारे जिल्लामा मात्रै करिब २५० जनाको मृत्यु र ५०० भन्दा बढी घाइते भएका छन्। धेरै गाउँ पूर्ण रूपमा ध्वस्त भएको र उद्धार कार्य जारी रहेको बताइएको छ।
जनस्वास्थ्य मन्त्रालयका प्रवक्ता शराफत जमानले भने, “हताहतको सङ्ख्या लगातार परिवर्तन भइरहेकाले कुनार, नङ्गरहार र राजधानी काबुलबाट मेडिकल टोलीहरू प्रभावित क्षेत्रमा पठाइएको छ।”
जलालाबाद शहर करिब ३ लाख जनसङ्ख्या भएको व्यापारिक केन्द्र हो, जसको धेरैजसो घर कमजोर संरचनामा बनेका छन्। कङ्क्रिट, इँटा, माटो र काठका भवनहरू भएकोले भूकम्पमा क्षति अझ गम्भीर भएको बताइन्छ।
यसअघि २०२३ अक्टोबर ७ मा अफगानिस्तानमा गएको ६.३ म्याग्निच्युडको भूकम्पमा हजारौँको मृत्यु भएको थियो। त्यसपछि हालै आएको यो भूकम्पलाई पनि अफगानिस्तानका लागि अर्को ठूलो प्राकृतिक विपत्ति मानिएको छ।


















Discussion about this post