सार्थक ब्यूरो । लगातार तीन दिनदेखिको वर्षापछि दोधारा चाँदनी नगरपालिका–८ स्थित जर्का टोलमा जोगबुडा नदीको बाढी पसेको छ। हरेक वर्षझैं यस वर्ष पनि नदीले वस्तीलाई डुबानमा पारेको हो।बाढीका कारण हालसम्म दुई दर्जनभन्दा बढी घरपरिवार विस्थापित भएका छन्। मानवीय क्षति भने नभएको वडा अध्यक्ष ओम प्रकाश रोकायाले जानकारी दिनुभयो। उहाँका अनुसार वडा नं. ७ र ८ का वासिन्दा डुबानमा परेपछि सुरक्षाकर्मी र स्थानीयको सहयोगमा उद्धार गरी सुरक्षित स्थानमा सारिएको छ।हाल विस्थापितलाई जनज्योति माध्यमिक विद्यालयमा राखिएको छ। समुदायिक विपद् व्यवस्थापन समितिका अध्यक्ष टिका मगरका अनुसार प्रभावित परिवारलाई अस्थायी आवाससहित सुरक्षित खानेपानी, स्वास्थ्य र स्वच्छतासम्बन्धी सुविधा उपलब्ध गराइएको छ।
जर्का टोलका ५२ घरपरिवारमध्ये जोखिममा परेका परिवारलाई सुरक्षित स्थानमा सारिएको हो। नजिकैको रामपुरे टापुका बासिन्दा पनि हरेक वर्षजस्तै यसपालि पनि बाढीको जोखिममा परेका छन्।स्थानीय तह, विपद् समिति र सुरक्षाकर्मीबीच समन्वय गरी राहत तथा पुनःस्थापनाको प्रयास भइरहेको छ। दोधारा चाँदनी नगरपालिकाका मेयर किशोरकुमार लिम्बुले निरन्तर वर्षाका कारण बाढीको जोखिम उच्च रहेको भन्दै स्थानीयलाई सतर्क रहन आग्रह गर्नुभएको छ। राहत कार्य सुरु भए पनि स्थायी समाधानबारे स्पष्ट योजना नआउनु जर्का टोल र आसपासका वासिन्दाका लागि चिन्ताको विषय बनेको छ।








Discussion about this post