सार्थक ब्यूरो ।कञ्चनपुरमा निरन्तर परिरहेको सिमसिमे वर्षाले जनजीवन प्रभावित भएको छ। चार दिनयता निरन्तर परिरहेको वर्षाले जिल्लाभरि जलमग्न, डुवान र कटानको समस्या चुलिँदो क्रममा छ।नदी, खोल्साखोलामा पानीको सतह तीव्र गतिमा बढेसँगै तटीय क्षेत्रहरूमा जलमग्न, डुवान र सतह घट्ने समयमा जमिन कटान भइरहेको छ। जिल्लाको उत्तरी भेगदेखि दक्षिणीसम्मै उर्वरभूमि बगाइरहेको जनाइएको छ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता डिएसपी सागर बोहराका अनुसार महाकाली नदीमा झण्डै १ लाख ४० हजार क्युसेक पानीको सतह पुगेपछि बनबासा पुलमा चारपाङ्ग्रे सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ।
उनीका अनुसार जोगबुढा नदीमा पानीको सतह बढेसँगै दोधारा–चाँदनी नगरपालिका–८ रामपुरे टोलका २५ र पटराखल्लाका १५ घर डुवानमा परेका छन्। भुजेला खोलाले भीमदत्त नगरपालिका–११ चौकीसाताका पाँच परिवार डुवानमा परेको जनाइएको छ।
डुवानमा परेका परिवारलाई स्थानीय प्रशासन र सुरक्षाकर्मीले सुरक्षित स्थानमा सारिएको छ। यसैगरी, जगबुढा नदीले कुतिया कबर क्षेत्रमा कटानी गरिरहेको छ भने चौधर, राधा, झर्नाखोला, दोदा र मोहना नदीले समेत कटान गरिरहेका छन्।
विगत चार दिनदेखि राति निरन्तर वर्षा भई बिहानसम्म चल्ने र दिउँसो सिमसिमे पानी पर्ने क्रम जारी छ। यसले मानवीय क्षति र भौतिक जोखिम बढाएको भए पनि अन्नबालीलाई भने लाभ पुगेको छ।








Discussion about this post