सार्थक ब्यूरो ।नेकपा एमालेका स्थायी कमीटी सदस्य कर्ण बहादुर थापाले आजदेखि शुरु हुने दोस्रो विधान महाधिवेशनमा फरक मत प्रस्तुत गर्ने भएका छन् ।थापाले प्रस्तुत गर्ने फरक मतलाई विहिबार बसेको सचिवालय बैठकले अनुमोदन गरेको थियो । उनले आफ्नो फरक मतमा पार्टीमा विधमान प्रमुख समस्याको बारेमा विस्तृत रुपमा आफ्नो धारणा राखेका छन् । उनले पार्टीमा गुटको आबरणमा वाञ्छित, अवाञ्छित, बैध, अबैध क्रियाकलाप खुलेआम हुनथालेको उल्लेख गर्दै सीमित नेताहरु बसेर निर्णय गर्ने र त्यही निर्णयलाई औपचारिकता दिनका लागि कमिटीका बैठकबाट पारित गराउने गैरलोकतान्त्रिक अभ्यास पार्टीमा हावी भएको आरोप लगाएका छन् ।
उनले पार्टीमा छलफल, बहस, आलोचना, आत्मालोचनाको अभ्यासले प्राथकिमता पाउन छोडेको आरोप लगाउदै पार्टीका कमिटीहरुमा राजनीतिक, वैचारिक बहसको बाताबरण नभएको र सिंगो पार्टी राजनीतिक, वैचारिक रुपमा होइन, प्राविधिक रुपमा गैरसरकारी संस्थाको ढाँचाबाट चलिरहेको बताएका छन् ।
थापाले आफ्नो फरक मतमा राखेका वर्तमान पार्टी जीवनका प्रमुख समस्यास्
हामीले जनताको बहुदलीय जनवादलाई मार्गदर्शक सिद्धान्तको रुपमा विकास गर्ने क्रममा निश्चित मान्यताहरुलाई स्थापित गरेका थियौं । पार्टी सञ्चालनको विधि, कमिटी प्रणाली र सञ्चालनको विधि र प्रकृया तथा आफ्नै मौलिक ढाँचा र नेतृत्व निर्माणको लोकतान्त्रिक विधिलाई विधानद्वारा निर्देशित हुने व्यवस्था गर्यौं । आठौँ राष्ट्रिय महाधिवेशनमा बहुपदीय प्रणालीलाई अभ्यासमा ल्यायौं । पदाधिकारीको परिभाषित जिम्मेवारी विधानमै तोकियो । सबै तहका पदाधिकारी र सदस्यहरु प्रत्यक्ष निर्वाचित हुने प्रणालीलाई पार्टी जीवनमा लागु गर्यौं । स्वतन्त्र र गोप्य मतदानका माध्यमबाट महाधिवेशन वा अधिवेशनका प्रतिनिधिले नै आफ्नो नेता छान्ने प्रणाली लागु गर्यौं ।
नेताले नेता चुन्ने विगतको प्रणालीलाई छोडेर कार्यकर्ताले नै नेता चुन्ने लोकतान्त्रिक अभ्यासलाई स्थापित गर्यौं । प्रमुख नेता वा नेताहरुको समुहले नेता बनाउन खोजेर पनि नेता बन्न नसक्ने र प्रमुख नेता वा नेताहरुको समुहले नचाहदा पनि नेता चुनिन सक्ने अभ्यासलाई पार्टीको जीवनमा व्यवहारमा लागु गर्यौं । टिके प्रथालाई संपूर्ण रुपमा पूर्णविराम लगाउने काम भयो । पार्टी विधानमै पार्टी सदस्यलाई सार्वभौम बनाउने व्यवस्था गरियो । पार्टी सदस्यले आफ्नो मतको विवेकसम्मत प्रयोग गरेको देखियो
समुह–समुह बनाएर खुल्ला प्रतिस्पर्धा हुदापनि समुहको प्रमुख नेता एक समुहको निर्वाचित हुदा अर्का समुहको पदाधिकारी र सदस्य निर्वाचित भएका थुपै्र परिणाम देखिए । देशभरीका अनेकांै कमिटीका अधिवेशन र जनबर्गिय संगठनका अनेकौ कमिटीमा लोकतान्त्रिक विधिबाटै आ–आफ्नो कमिटीका नेता निर्वाचित गर्ने अभ्यासलाई जिवन्त बनाउने काम भयो ।
यस अभ्यासले नेता र कार्यकर्ताको बीचमा जीवन्त सम्बन्ध हुने र पार्टीभित्र सकारात्मक रक्त सञ्चार गराउने काम भयो । पार्टी र जनबर्गिय संगठनका सबै कमिटीमा व्यापक छलफल र बहसबाट निर्णयमा पुग्ने लोकतान्त्रिक अभ्यास पनि भयो । पार्टीमा नेतृत्व विकासको सहज प्रणाली स्थापित गर्न एउटै कार्यकारी पदमा दुई अवधि भन्दा बढि नरहने र ७० वर्ष उमेर हद कायम गरेर जीवन्त पार्टी निर्माण गर्न लोकतान्त्रिक मान्यतालाई स्वीकार गरियो र नवौं राष्ट्रिय महाधिवेशनबाट पारित विधानमा उक्त प्रावधान राखियो । पार्टीका सदस्यहरु नेताहरुको वरिपरि घुमिरहने समस्याबाट एक स्तरको मुक्ति भएको थियो ।
पार्टी नेता बन्न चाहने व्यक्तिहरु पार्टीका कार्यकर्ता र जनतासँगको घनिष्ठ सम्बन्धमा रहनु पर्ने आम परिस्थिति निर्माण भयो । पार्टीको नवौं महाधिवेशनसम्म आई पुग्दा हाम्रो आन्दोलनको इतिहासमा कहिल्यै पनि अभ्यास नगरिएको औपचारिक मतपत्रमै समुह खडा गरी निर्वाचित हुने अभ्यास पनि भयो । नेतृत्व निर्माणका सम्बन्धमा खुला प्रतिस्पर्धाको अभ्यास त नमुना ढंगले भयो तर यस बीचमा शिरदेखि तिरसम्मै गुटगत गतिविधि तीब्र भए । गुटको आबरणमा वाञ्छित, अवाञ्छित, बैध, अबैध क्रियाकलाप खुलेआम हुनथाले । प्रतिस्पर्धा स्वस्थ होइन, अस्वस्थ हुन थाले । पार्टी सदस्य बनाउन अरुले शुल्क तिरि दिने गलत अभ्यासको शुरुआत पनि यसै अवधिमा भयो । कुनै कुनै गुटमा सक्रिय नहुने सक्षम र असल कार्यकर्ताहरु माथि अन्याय हुने स्थिति भोग्नु पर्यो । यस अवधिमा विकास भएका नकारात्मक क्रियाकलाप
र प्रवृत्तिलाई हटाएर स्वस्थ बहस र प्रतिस्पर्धाको असल अभ्यासलाई पार्टी जीवनको अभिन्न अंग बनाउनु पर्नेमा नवौं महाधिवेशन पछि जबजले निर्देशित गरेका असल अभ्यासहरु पनि समाप्त भएर गए । छलफल, बहस, आलोचना, आत्मालोचनाको अभ्यासले प्राथकिमता पाउन छोड्यो । भिन्न मत सके प्रकट हुन नदिने, भईहाले भने असहिष्णुताको व्यवहार गर्नेमात्रै होइन, कतिपय अबस्थामा प्रतिशोध साँध्नेसम्मका व्यवहार पार्टी जीवनमा देखिए ।
सीमित नेताहरु बसेर निर्णय गर्ने र त्यही निर्णयलाई औपचारिकता दिनका लागि कमिटीका बैठकबाट पारित गराउने गैरलोकतान्त्रिक अभ्यासले निर्णयको प्रभावकारी कार्यान्वयन र जिम्मेवारी बहन नहुने समस्या पार्टीमा देखियो । केन्द्रीय कमिटी, स्थायी कमिटी, पोलिटव्यूरोका बैठकहरु समयमा नबोलाउने, बैठक भएपनि प्रयाप्त छलफल नहुने, हरेक निर्णय सचिवालयबाट गर्ने र तुरुन्तै कार्यान्वयन गरी हाल्ने, विषयको सान्दर्भिकता सकिसके पछि केन्द्रीय कमिटीबाट अनुमोदन गराउनाले दुई महाधिवेशनको बीचको सर्वोच्च कार्यकारी केन्द्रीय कमिटी सचिवालयका निर्णयमा ल्याप्चे लगाउने कमिटीको रुपमा भूमिकाविहीन अबस्थामा पुर्याइएको छ ।
भयरहित राजनीतिक बातावरणमा आफुलाई लागेका कुरा प्रष्टसँग राख्ने अबस्था छैन । दब्बु मानसिकतामा रहेका कार्यकर्ता र नेताहरु संगठित रहेका कमिटीहरु औपचारिकतामा सीमित रहेको अबस्था छ । कमिटीहरुमा राजनीतिक, वैचारिक बहसको बाताबरण छैन । सिंगो पार्टी राजनीतिक, वैचारिक रुपमा होइन, प्राविधिक रुपमा गैरसरकारी संस्थाको ढाँचाबाट चलिरहेको स्थिति छ । जबजले स्थापित गरेका मान्यताहरु हात्तिको देखाउने दाँतमात्रैमा सीमित गरिएको छ । यस स्थितिबाट पार्टीलाई मुक्त गर्न हामीले जबजको मूल सिद्धान्त र त्यसले विकास गरेका मूल्य र मान्यतालाई दह्रो गरी आत्मसात गर्नु पर्दछ ।


















Discussion about this post