एमाले विधान महाधिवेशनमा अध्यक्ष ओलीकाे आग्रह : फरक मत भए समूह छलफलमा राख्नुस्

सार्थक ब्यूरो । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को दोस्रो विधान महाधिवेशनको बन्द सत्रमा अध्यक्ष केपी शर्मा ओलीले विधान संशोधनको प्रस्तावमा फरक मत वा असहमति भए समूहगत छलफलमा राख्न सबै प्रतिनिधिलाई आग्रह गर्नुभएको छ।

अध्यक्ष ओलीले यसो गर्न सुझाव दिनुको मुख्य उद्देश्य महाधिवेशनको कार्यतालिका र समय व्यवस्थापनलाई सन्तुलित बनाउनु भएको हो। स्थायी कमिटीका सदस्य कर्णबहादुर थापाले बोल्न खोज्दा अध्यक्ष ओलीले समय व्यवस्थापनका लागि आफ्ना विचार समूहमै राख्न अनुरोध गर्नुभयो। उहाँले थापाको मूल प्रतिवेदनमा कुनै फरक मत नरहेको र विधान संशोधनमा सबै मत समूहगत छलफलमा राख्न सकिने स्पष्ट पार्नुभयो।

अध्यक्षको यो आग्रहलाई हलमा उपस्थित प्रतिनिधिहरूले तालीमार्फत समर्थन जनाए। सहमति पाएपछि थापाले आफ्ना मतहरू पर्चामार्फत वितरण गर्नुभयो, जसलाई हलमा उपलब्ध गराइयो। यसरी प्रतिनिधिहरूले सुझाव र असहमति व्यवस्थित रूपमा राख्न सक्ने वातावरण तयार भएको छ।

महाधिवेशनको पहिलो दिन अध्यक्ष एवं प्रधानमन्त्री ओलीले राजनीतिक प्रस्ताव प्रस्तुत गर्नुभएको थियो। उपाध्यक्ष विष्णुप्रसाद पौडेलले विधान संशोधन प्रस्ताव, महासचिव शङ्कर पोखरेलले सङ्गठनात्मक प्रस्ताव र केन्द्रीय सल्लाहकार परिषद्का अध्यक्ष अमृतकुमार बोहराले आफ्ना दस्तावेज प्रस्तुत गर्नुभएको थियो।

दोस्रो दिन, केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष डा. विजय सुब्बा, लेखा आयोगका अध्यक्ष डा. पुष्प कँडेल र अनुशासन आयोगका अध्यक्ष केशव वडालले आफ्ना प्रतिवेदन प्रस्तुत गर्नुभयो। यी सबै प्रतिवेदनमा छलफलका लागि महाधिवेशनले १० समूह बनाएको छ। समूहगत छलफल आज दिनभर चल्ने छ।

महाधिवेशनका समूह टोलीले नेताहरूको प्रस्तुतिका क्रममा उठेका विचार र सुझावहरू संकलन गर्ने जिम्मेवारी पाएका छन्। छलफल नोट तयार गर्न सचिव लेखराज भट्टको संयोजकत्वमा कमिटी गठन गरिएको छ। महाधिवेशन आइतबार सम्पन्न हुने तय भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित