सार्थक ब्यूरो ।कैलालीको धनगढी र कञ्चनपुरको राजघाट जोड्ने झोलुङ्गे पुल अहिले स्थानीय सुविधाभन्दा बढी सामाजिक सञ्जाल र आन्तरिक पर्यटनको हॉटस्पट बनेको छ।यस पुल निर्माणअघि धनगढी आउन–जान वर्षातमा स्थानीयलाई ठूलो कठिनाइ थियो। मोहना नदीमा बाढी आउँदा आवतजावत नै अवरुद्ध हुने समस्या थियो। पुल बनेपछि स्थानीयले उपचार, किनमेल, शिक्षा लगायत दैनिक गतिविधि सहज रूपमा गर्न पाएका छन्। यो स्थानीय जीवनस्तरमा ठूूलो सहजता ल्याउने भौतिक पूर्वाधार मानिन्छ।
२०७८/७९ मा ८० लाख ९० हजार रुपैयाँको लागतमा टेण्डर आह्वान भई उपभोक्ता समिति र निर्माण कम्पनीको साझेदारीमा पुल बनेको हो। २०८०/८१ मा सम्पन्न भएको यो परियोजना स्थानीय तह र समुदायको सहकार्यबाट बनेको एउटा उदाहरण हो।
पुल अहिले केवल यातायात सुविधा मात्र होइन, मनोरञ्जन र पर्यटनको केन्द्र बनेको छ। शनिबार तथा बिदामा यहाँ भीड लाग्ने गरेको छ। विशेष गरी टिकटक भिडियो बनाउन युवाहरू यहाँ आकर्षित हुन्छन्। राष्ट्रिय झण्डा सहित भिडियो बनाउने र समूहगत भ्रमण गर्ने चलनले पुललाई ‘भाइरल पुल’ को परिचय दिएको छ।
भीडभाड बढ्दा पुल नै ‘भाच्चिने’ अवस्था आउने स्थानीयको भनाइले सुरक्षा व्यवस्थाबारे गम्भीर प्रश्न खडा गर्छ। पुलको भार क्षमता, पर्यटकको व्यवस्थापन, सुरक्षा संकेतहरूमा स्थानीय सरकार र सरोकारवाला निकायले ध्यान दिनुपर्ने देखिन्छ। यदि यसमा समयमै पहल भएन भने दुर्घटना वा अव्यवस्थाले परियोजनाको सकारात्मक छवि कमजोर बनाउन सक्छ।
यो पुलले स्थानीय आवतजावत मात्र होइन, पर्यटन प्रवर्द्धनको सम्भावना पनि खोलेको छ। उपयुक्त व्यवस्थापन, प्रचारप्रसार र आसपासका क्षेत्रमा आवश्यक पूर्वाधार विकास भएमा राजघाटको झोलुङ्गे पुल पश्चिम तराईको नयाँ आकर्षक पर्यटन गन्तव्य बन्न सक्छ। राजघाटको झोलुङ्गे पुल स्थानीय विकास र पर्यटनबीचको सेतु बनेको छ। तर, यसको दीर्घकालीन प्रभावलाई सकारात्मक बनाउन सुरक्षा, व्यवस्थापन र प्रचारप्रसारमा स्थानीय तहले रणनीतिक सोच अपनाउन जरुरी देखिन्छ।








Discussion about this post