सार्थक डेस्क।नेपालको हालको राजनीतिक संकट आकस्मिक रूपमा पैदा भएको होइन, दशकौँयता दलहरूले गरेका गल्तीहरूको परिणाम हो। विशेषगरी नेपाली कांग्रेस र नेकपा एमालेले आफ्नो नीति, सिद्धान्त र विचारलाई छोडेर सत्ता–सञ्जालमा सीमित हुँदा मुलुकले बारम्बार अस्थिरता भोग्नुपरेको छ। जनतासँगको सम्बन्ध कमजोर बनाउँदै दलहरू केवल कुर्सीको गणितमा रम्दा, उनीहरूप्रति नागरिकमा असन्तोष, निराशा र आक्रोश बढ्दै गयो। यही कमजोर स्थितिको लाभ उठाउँदै तत्कालीन राजा ज्ञानेन्द्रले असंवैधानिक कदम चालेका थिए।
राजाले गरेका गल्तीलाई नागरिक समाज र पेशागत संगठनको लामो संघर्षले सच्याए पनि राजनीतिक दलहरू फेरि पनि पुरानै ढर्रामा फर्किए। परिणामस्वरूप जनतामा दलप्रतिको विश्वास क्रमशः खस्कँदै गयो। व्यवस्थाको नाममा परिवर्तन भए पनि आमनागरिकले अनुभूत गर्ने अवस्था भने यथास्थितिमा सीमित रह्यो। भ्रष्टाचार, दण्डहीनता, र असक्षम नेतृत्वका कारण नागरिक निराशाको गर्तमा धकेलिएका छन्।
यस्तो पृष्ठभूमिमा नयाँ पुस्ता—Gen Z—ले उठाएको आन्दोलन भ्रष्टाचार र सुशासनका मागसहित सुरु भएको थियो। तर आन्दोलन नियन्त्रण गर्ने सरकारको असक्षम भूमिका, सुरक्षा निकायको उदासीनता र दलहरूको अवसरवादी चरित्रले आन्दोलन हिंसात्मक रूप लिँदा ठूलो जनधनको क्षति भयो। अहिले मुलुक राज्यविहीनताको जोखिमतर्फ धकेलिएको छ।
अझ खतरनाक त के भने, “नागरिक सरकार” गठनका नाममा चलिरहेको चलखेलले संवैधानिक व्यवस्थाप्रति प्रश्न उठाएको छ। सत्ता–संघर्षलाई सहज पार्ने बहानामा सेना कमान्डको भूमिकाबारे चर्चाले षड्यन्त्रको छायाँ थप गाढा बनाइरहेको छ। लोकतन्त्रलाई संस्थागत गर्नुपर्ने दलहरूकै कारण आज लोकतन्त्र संकटग्रस्त बनेको तथ्यलाई हामी नदेखी बस्न सक्दैनौं।
अबको निकास दुई बाटामध्ये एक हुन सक्छ—पहिलो, संविधानमै सुनिश्चित गरिएको प्रक्रिया र संस्थागत संरचनालाई सम्मान गर्दै संवैधानिक निकास खोज्ने; दोस्रो, आवश्यकता सिद्धान्तको नाममा नागरिक सरकार गठन गर्ने। तर दोस्रो बाटोले लोकतन्त्रलाई थप कमजोर बनाउने निश्चित छ। लोकतन्त्रमा संकट आएको बेला झन् संविधान नै हाम्रो आधार बन्नुपर्छ, किनकि संस्थागत स्थायित्वको विकल्प अरू केही छैन।
राजनीतिक दलहरूले सत्ता मोह त्यागेर सचिनुपर्ने समय यही हो। नागरिक आन्दोलनले दिएका सन्देशलाई बुझ्नुपर्ने जिम्मेवारी पनि तिनै दलहरूको काँधमा छ। अन्यथा, फेरि पनि मुलुकलाई षड्यन्त्र र अनिश्चितताको गर्तमा धकेलिने खतरा प्रस्ट छ।








Discussion about this post