सार्थक ब्यूरो । सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीको जनजीवन क्रमिक रूपमा सामान्य बन्दै गएको छ। जेन्जी पुस्ताको प्रदर्शनका क्रममा सोमवारदेखि असामान्य बनेको धनगढी अहिले विस्तारै शान्त हुँदै गएको हो।धनगढी बजार क्षेत्रका पसल, पेट्रोल पम्प, हाटबजार, नास्ता पसल तथा होटेलजस्ता व्यावसायिक प्रतिष्ठान क्रमशः खुल्न थालेका छन्। यस्तै, निजी सवारी साधन र विद्युतीय रिक्साहरू पनि सडकमा देखिन थालेका छन्।
देशभर फैलिएको अशान्तिपछि शान्ति–सुरक्षा कायम राख्न नेपाली सेना परिचालन भएपछि धनगढीमा स्थायित्व फर्किन थालेको बताइएको छ। सेनाको उपस्थिति धनगढी बजारसहित आसपासका क्षेत्रमा देखिन्छ। कैलाली भन्सार कार्यालय, मुख्यमन्त्रीको निवास, प्रदेश सभा, तथा अन्य सरकारी निकायहरूको सुरक्षामा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी संयुक्त रूपमा खटिएका छन्।
यता, प्रदर्शनका क्रममा तोडफोड र आगजनी भएका सरकारी कार्यालयहरूको क्षतिको विवरण सङ्कलन कार्य पनि सुरु भएको छ। शुक्रबार मालपोत कार्यालय, कैलालीमा भएको क्षतिको विवरण जिल्ला प्रहरी कार्यालयले सङ्कलन गरेको छ। प्रहरीले सम्पूर्ण क्षति मूल्याङ्कन गर्न जिल्ला स्तरको संयुक्त अनुगमन टोली गठन आवश्यक हुने जनाएको छ।
जिल्ला कारागार, कैलालीबाट भागेका कैदी तथा थुनुवा क्रमशः प्रहरी सम्पर्कमा आउन थालेका छन्। भारतीय सीमा सुरक्षा बल (एसएसबी) को सहयोगमा सीमाक्षेत्रबाट समेत भागेका कैदीहरूलाई फिर्ता ल्याइरहेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ।
धनगढीमा जनजीवन सामान्य हुँदै गए पनि कञ्चनपुरमा भने अझै पसलहरू नखुलेको, यातायात सञ्चालन नहुँदै बजार क्षेत्र सुनसान रहेको बताइएको छ। कैलाली कञ्चनपुरमा जारी निषेधाज्ञा तथा कर्फ्यु यथावत रहेको छ।








Discussion about this post