सार्थक ब्यूरो ।बझाङका भीम धामीको कथा केवल व्यक्तिगत पीडाको प्रसंग मात्र होइन, यो आजको नेपाली समाज र अर्थतन्त्रको गहिरो विरोधाभास झल्काउने उदाहरण पनि हो।भीम धामी विदेश जान सक्ने अवसर छाडेर देशमै उद्यम गर्ने निर्णय गरेका थिए। उनले करिब ५० लाख रुपैयाँ लगानी गरेर गाईपालन र डेरी व्यवसाय सञ्चालन गरे। परिवारसहित करिब ८–१० जना त्यस व्यवसायमा संलग्न थिए। उनले नाफाभन्दा पहिले सामाजिक अर्थमा महत्वपूर्ण सन्देश दिएका थिए— देशमै केही गर्न सकिन्छ भन्ने।तर यो सफलताको कथा बीचमै टुट्यो। अझै १० लाख रुपैयाँभन्दा बढी ऋण तिर्न बाँकी अवस्थामा उनी जेनजी समूहको आन्दोलनमा सहभागी भए र गोली लागेर ज्यान गुमाए।
भीम धामीको मृत्यु केवल व्यक्तिगत दुर्घटना होइन, यसले प्रश्नहरू उठाउँछ,भीम जस्ता युवाहरू देशमै रहन, लगानी गर्न र रोजगारी सिर्जना गर्न तत्पर थिए। तर उनीहरूको जीवन र भविष्य यति असुरक्षित किन छ ? आन्दोलनमा सहभागी हुँदा उनीहरूले ज्यान गुमाउनु पर्ने अवस्था किन आउँछ ?राजनीतिक असन्तुष्टि र आन्दोलनहरू बारम्बार भइरहँदा साना उद्यमीहरू सबैभन्दा पहिले प्रभावित हुन्छन्। ऋण, बजार र लगानीको जोखिम त उनीहरूकै काँधमा हुन्छ। यस्ता आन्दोलनहरूमा हुने हिंसाले देशमै गर्न सकिन्छ भन्ने विश्वासलाई कमजोर बनाइरहेको छ।भीमको ज्यान जोगाउन सक्ने जिम्मेवारी राज्यको थियो। तर न त पूर्वतयारी थियो, न जवाफदेहिता देखियो। मृत्यु भएपछि मात्र परिवारलाई खबर गरिएको घटना अझै अमानवीय छ।
भीम जस्ता आत्मनिर्भर उद्यमीसमेत परिवर्तनको आन्दोलनमा उत्रिन बाध्य हुनु, अहिलेको जेनजी पुस्तामा गहिरो असन्तुष्टि पलाइसकेको संकेत हो। उनीहरू रोजगार, पारदर्शिता, भ्रष्टाचार नियन्त्रण र उत्तरदायी शासन माग्दै सडकमा आएका छन्। तर, यस्तो आन्दोलनले जब ज्यान लिन्छ, तब समाज र राज्य दुवैले आत्ममूल्यांकन गर्नुपर्छ।
भीम धामीले देशमै केही गर्न सकिन्छ भनेर देखाएको बाटो अहिले टुटेको छ। तर यसबाट हाम्रो जिम्मेवारी टारिँदैन।सरकारले उद्यमी युवाहरूको सुरक्षाको ग्यारेन्टी गर्नुपर्छ।आन्दोलनहरू हिंसामा नजाऊन् भनेर राजनीतिक नेतृत्वले जिम्मेवारी लिनुपर्छ।समाजले यस्ता युवाको सपना जोगाउन आवाज उठाउनुपर्छ।यदि हामीले भीमहरूलाई जोगाउन सकेनौं भने, भोलि कोही पनि देशमै केही गर्नुपर्छ भन्ने साहस गर्ने छैन।


















Discussion about this post