सार्थक ब्यूरो । जेन जेड आन्दोलनको उत्कर्षमा भदौ २४ गते कैलाली कारागारबाट भागेका कैदीबन्दीमध्ये ११८ जनाले पुनः कारागार फर्किएको कारागार प्रशासनले जनाएको छ। फर्कनेमध्ये १५ जना महिला रहेका छन्।जेलर चिरञ्जीवी सापकोटाका अनुसार आन्दोलनकै दिन कारागारको पर्खाल भत्काएर कुल ६६६ जना कैदीबन्दी फरार भएका थिए। तीमध्ये धेरैजसो स्वेच्छाले कारागार फर्किएका छन् भने केहीलाई प्रहरीले पक्राउ गरी बुझाएको छ।
“टीकापुर लगायतका क्षेत्रबाट प्रहरीले केही फरार कैदीलाई पक्राउ गरी बुझाइसकेको छ,” सापकोटाले बताए, “अझै फरार रहेका कैदीहरूको सूची तयार गरी प्रहरीले खोजीकार्य अघि बढाइरहेको छ।”
कारागार प्रशासनले सार्वजनिक सूचना जारी गर्दै बाँकी फरार कैदीहरूलाई स्वेच्छाले फर्कन आग्रह गरेको छ। प्रहरी प्रशासनले पनि फरार कैदीहरूको परिचय र विवरण संकलन गरी खोजी कार्यलाई तीव्र बनाएको जनाइएको छ।
कैलाली कारागारमा घटना हुनुअघि ६६७ जना कैदीबन्दी रहेका थिए। तीमध्ये एक जनाबाहेक सबै फरार भएका थिए, जसमा केही भारतीय नागरिक समेत परेका थिए। भागेका कैदीमध्ये केही भोलिपल्टदेखि नै कारागारसँग सम्पर्कमा आएर फर्कने प्रक्रिया सुरु गरेका थिए।कारागार प्रशासनले फरार घटनापछि जीर्ण अवस्थाको कारागार परिसरमा सफाइ र पर्खाल मर्मतको काम पनि थालेको जनाएको छ। साउन २३ गते राति ब्लक ‘ए’ का कैदीले पर्खाल भत्काई ब्लक ‘बी’ का कैदीमाथि आक्रमण गरेको घटनापछि नै कारागारको सुरक्षा चुनौतीपूर्ण बनेको थियो। विक्रम संवत १९९७ मा निर्माण भएको यो कारागार अहिले जीर्ण अवस्थामा रहेको र फरार घटनाले स्थानीयवासीमा त्रास सिर्जना गरेको जनाइएको छ।








Discussion about this post