सार्थक ब्यूरो । जेन जेड आन्दोलनका क्रममा जिल्लाभर भएका आगजनी, तोडफोड र लुटपाट घटनाको छानबिनका लागि एमाले कञ्चनपुरले उच्चस्तरीय न्यायिक छानबिन आयोग गठन गर्न माग गरेको छ। साथै पार्टीले सार्वजनिक सम्पत्तिको संरक्षण, दोषीहरूलाई कानूनी कारबाही र शान्ति–सुरक्षाको प्रत्याभूतिको पनि आग्रह गरेको छ।
एमाले कञ्चनपुरका अध्यक्ष लक्ष्मी बुढा र सचिव पल्लवराज भट्टले संयुक्त रूपमा प्रेस विज्ञप्ति जारी गर्दै आन्दोलनको आडमा भएका आपराधिक गतिविधिका संलग्नहरूलाई छिट्टै पहिचान गरी कारबाहीको दायरामा ल्याउन माग गरेका छन्। उनीहरूका अनुसार आन्दोलनका क्रममा सरकारी र निजी सम्पत्तिमा व्यापक क्षति पुगेको छ, जसले समाजमा त्रासपूर्ण वातावरण सिर्जना गरेको छ।
विज्ञप्तिमा भनिएको छ, “देशभर हजारौँ कैदीबन्दीहरू जेल तोडफोड गरी फरार भएका छन्, राजनीतिक दलका कार्यालय तथा नेताहरूको घरमा आक्रमण, उद्योगपति तथा व्यापारीहरूका निजी सम्पत्तिमा आगजनी र लुटपाट भएका छन्, जसले शान्ति–सुरक्षामा गम्भीर असर पारेको छ।”
एमालेले वर्तमान परिस्थितिलाई जटिल र संवैधानिक सङ्कटतर्फ धकेलिने अवस्था भएको भन्दै लोकतान्त्रिक व्यवस्था र संविधानको रक्षा गर्न सबै लोकतान्त्रिक शक्तिहरू एकजुट हुनुपर्ने मत राखेको छ। विज्ञप्तिमा पार्टी कार्यकर्तालाई संयमता, धैर्यता र एकताका साथ संगठनात्मक जिम्मेवारीमा सक्रिय रहन समेत आग्रह गरिएको छ।
पार्टीले जेन जेड आन्दोलनको सुरुवाती चरणमा सामाजिक सञ्जाल स्वतन्त्र प्रयोग, भ्रष्टाचारको छानबिन र सुशासनको माग गर्दै शान्तिपूर्ण प्रदर्शन भए पनि त्यसमा घुसपैठ भई हिंसात्मक रूप लिँदा ठूलो जनधनको क्षति भएको ठहर गरेको छ। हालसम्म मृत्यु हुनेको संख्या ७२ पुगेको पुष्टि भएको भन्दै एमाले कञ्चनपुरले मृतकप्रति श्रद्धाञ्जली र घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै निशुल्क उपचारको माग पनि गरेको छ।
विज्ञप्तिमा आन्दोलनको आवरणमा एमाले, कांग्रेस र माओवादी केन्द्रका जिल्ला कार्यालयहरूमा आगजनी र तोडफोड गरिएकामा दुःख व्यक्त गरिएको छ। साथै जिल्ला प्रशासन कार्यालय, शुक्लाफाँटा, कृष्णपुर र पुनर्वास नगरपालिकाका भवन, शुक्लाफाँटा र कृष्णपुरका वडाकार्यालयहरू लगायत सरकारी संरचनाहरूमा तोडफोड, आगजनी तथा लुटपाट भएको उल्लेख गरिएको छ।
यसबाहेक, एमाले पोलिटब्युरो सदस्य तथा जिल्ला इन्चार्ज निरुदेवी पाल, पोलिटब्युरो सदस्य तथा सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता राजेन्द्रसिंह रावल र पूर्व जिल्ला अध्यक्ष तथा भीमदत्त नगरपालिकाका पूर्व मेयर सुरेन्द्र बिष्टको घर पूरै जलाई नष्ट गरिएको विवरण पनि सार्वजनिक गरिएको छ। त्यस्तै कांग्रेसका नेता रमेश लेखक, मधु भारती, दुर्गादत्त बोहरा, पदम बोगटी तथा समाजवादीका प्रकाश रावललगायतका नेताहरूको घरमा समेत आगजनी गरिएको विज्ञप्तिमा उल्लेख छ।एमाले कञ्चनपुरले यस्ता घटनाको निष्पक्ष छानबिन गरी दोषीहरूलाई कानूनी कठघरामा उभ्याउन सरकारसँग माग गरेको छ।









Discussion about this post