सार्थक ब्यूरो ।कञ्चनपुरस्थित जिल्ला कारागारबाट ‘जेन–जी’ आन्दोलनका क्रममा भागेका कैदीमध्ये हालसम्म १९३ जना फरार रहेको कारागार प्रशासनले जनाएको छ। तीमध्ये १८ जना भारतीय नागरिकसमेत छन्।
निमित्त जेलर रामदत्त जोशीका अनुसार आन्दोलनको अव्यवस्थित परिस्थितिमा कारागारको ढोका फुटाई बाहिरिएका ४७९ कैदीबन्दीमध्ये बुधबारसम्म २७५ जना आफैं फिर्ता भइसकेका छन् भने २४ जनालाई प्रहरीले जिल्लाका विभिन्न स्थानबाट नियन्त्रणमा लिएर कारागार पुर्याएको छ।
उनका अनुसार पाँच कैदीले फिर्ता आएपछि कैद अवधि पुरा गरी सोही दिन घर फर्किएका छन्। तर सम्पर्कविहीन रहेका १८ जना भारतीय कैदीबन्दी अझै कारागार नआएको र उनीहरू मध्ये कतिपय हत्या (कर्तव्यज्यान), जबरजस्ती करणी र चोरी जस्ता गम्भीर मुद्दाका रहेको जानकारी दिइएको छ। यसबाहेक कारागारसँग सम्पर्कमा रहेका १० जना भारतीय कैदीहरू भने फिर्ता भइसकेका छन्।
यस्तै, कारागारमा रहेका २६ महिला कैदीबन्दीमध्ये १४ जना फिर्ता आइसकेका छन् भने १२ जना अझै फरार छन्। कारागार प्रशासनले बाँकी फरार कैदीबन्दीलाई स्वेच्छाले फिर्ता आउन सार्वजनिक आग्रह गरिरहेको जनाएको छ।








Discussion about this post