सार्थक ब्यूरो ।चाडबाडको माहोल शुरु भइसकेको बेला सुदूरपश्चिमका सीमावर्ती नाकाहरूमा भारततर्फ जानेको भीड बढ्न थालेको छ। विशेषगरी रोजगारीको खोजीमा डोटी, बझाङ, डडेल्धुरा लगायत जिल्लाका युवायुवतीहरू कञ्चनपुरको गड्डाचौकी र कैलालीको गौरीफन्टा नाकाबाट भारत पस्न थालेका छन्।
डोटी जोरायल गाउँपालिका–४ का करन थापा पनि यस्तै एक हुन्। गाउँमा काम नपाएर परिवारसहित सिम्लातर्फ लागेका उनी भन्छन्, “यो रहर होइन, बाध्यता हो। गाउँमै दसैँ तिहार मनाउन मन नहोला ररु तर काम नपाएपछि भारत जानु परेको हो।” उनीसँगै श्रीमती, भाइ र बुहारी पनि छन्, जसले सिम्लामा स्याउ टिप्ने काम गर्ने योजना बनाएका छन्।
करन मात्र होइन, जोरायलकै अन्य करिब २५ जना युवाहरू पनि गाडी भाडामा लिएर गड्डाचौकी नाका हुँदै भारततर्फ गइरहेका छन्। दसैँतिहारमा विद्यालय बन्द हुने भएकाले धेरैले साना बालबालिकासहितै यात्रा थालेका छन्।
जोरायलकै मिनादेवी थापा र उनका श्रीमान दलबहादुर पनि पहिलोपटक छोरालाई साथमा लिएर सिम्ला जाँदै छन्। उनीहरूलाई निश्चित कामको आश्वासन त छैन, तर स्याउ टिप्नेदेखि निर्माण मजदुरीसम्म जे पायो त्यही गर्ने योजना बनाएका छन्। “यसपालिको चाडबाड भारतमै बित्छ, तिहारपछि विद्यालय खुल्ने बेला फर्किन्छौं,” मिनादेवीले बताइन्।
यस्तै, बलबहादुर मगर पनि आर्थिक अभावका कारण छ जनाको परिवार छोडेर श्रीमतीसहित भारत जाँदै छन्। उनी भन्छन्, “पढाइ छैन, गाउँमा काम छैन। थोरै कमाएर दसैँ तिहार मनाउनुपर्छ। पैसा नभए चाडबाड पनि मनाउन सकिन्न।”
जेनजी आन्दोलनका क्रममा केही समय सीमा नाकामा आवागमनमा कडाइ गरिए पनि अहिले पुनः सहज बनेको छ। यससँगै चाडबाड नजिकिँदै जाँदा गड्डाचौकी र गौरीफन्टा नाकाबाट दैनिक सयौँको संख्यामा नेपाली कामदार भारततर्फ गइरहेका छन्।








Discussion about this post