परिवर्तनको बाटो आन्दोलन हो, उच्छृङ्खलता होइन

-हरि प्रसाद जोशी

राजधानी काठमाडौँदेखि लिएर पूर्व मेची–झापा र पश्चिम महाकाली–कञ्चनपुरसम्म फैलिएको आगजनीले सम्पूर्ण देशलाई चकित बनाएको छ। एकैपटक विभिन्न जिल्लामा अनेक व्यक्तिहरूका घरहरूमा आगो लगाइँदा अहिले समाजभित्र गहिरो प्रश्न उठेको छ—किन व्यक्तिका घरमा आगो लगाइयो  ?
यस घटनामा लक्षित भएका सबै व्यक्ति भ्रष्टाचारमा संलग्न थिए भन्ने प्रमाण छैन। कञ्चनपुरका जिल्ला समन्वय समितिका प्रमुख दुर्गादत्त बोहरा, भीमदत्त नगरपालिकाका नगर प्रमुख पदम बोगटी, वेदकोट नगरपालिकाका भोजराज बोहरा, उपप्रमुख नीलम लेखकदेखि निवर्तमान गृहमन्त्री रमेश लेखक, पूर्वमुख्यमन्त्री राजेन्द्र रावल, एमाले नेतृ नेरु पाल, पूर्व नगरप्रमुख सुरेन्द्र बिष्ट, प्रदेशसभा सदस्य प्रकाश रावल,प्रदेश सभा समानुपातिक सांसद मधु भारती पूर्व नगरप्रमुख एवं कर्णाली प्रदेश प्रमुख यज्ञराज जोशीसम्मका घरहरूमा आगजनी हुनु कुनै संयोग मात्र होइन, तर नियोजित आक्रोशको उपज हो।
जेनजेड आन्दोलनले उठाएको भ्रष्टाचार नियन्त्रण र सुशासनको माग जनताको साझा पीडा हो। राजनीतिक स्थायित्वको अभाव, १७ वर्षमा १५ प्रधानमन्त्रीको आवागमन, नीति र नेतृत्वको अस्थिरताले जनताको आक्रोश बढ्नु स्वाभाविक हो। संविधान संशोधन गरी प्रत्यक्ष कार्यकारी प्रणाली ल्याउनुपर्ने आवाज पनि त्यही असन्तोषको परिणाम हो। यी मागहरू न्यायोचित छन्, र जनताको चाहना सुन्नु राज्यको दायित्व हो।
तर, आगजनी, लुटपाट र तोडफोडले कुनै पनि न्याय दिलाउँदैन। यस प्रकारका हिंसात्मक कार्यमा संलग्न भएका व्यक्तिहरू दुई किसिमका देखिन्छन्, पहिलो, चोर र लुटेरा जसले आन्दोलनको आवरणमा गरगहना, धनमाल लुटेका छन्। दोस्रो, ईर्ष्या र प्रतिसोधले अन्धो बनेका समूह र तेस्रो, राजनीतिक अवसरवादले मातिएका केही दलका कार्यकर्ता। केही यातायात क्षेत्रका ड्राइभर–खलासीदेखि बजारका फुटपाथ व्यापारीसम्म यसमा तानिनु दुःखद छ।
यसबाहेक, कञ्चनपुरमा तोडफोड गरिएका अधिकांश घरहरू केहि अपवाद वाहेक पैतृक सम्पत्ति थिए—पुर्ख्यौली सम्पत्तिमा आगो लगाउनु समाजकै विरासत जलाउनु हो। यस्तो कार्यले आन्दोलनका सही मुद्दाहरूलाई ढाकछोप गरिदिएको छ। भ्रष्टाचारविरुद्धको आवाज अब अपराधको छायाँमा परिरहेको छ।देशमा आगो लगाउदा उठेका मुख्य मुद्धा अहिले सेलाई रहेका छन । भ्रष्टाचारको उदगम भनेको देशको स्थायी सरकार नौकरशाह कर्मचारी तन्त्र हो त्यसको नियन्त्रणमा रहेर भ्रष्टाचार मौलाएको छ । सिस्टम परिवर्तनका कुरा पनि उठाइनु आवश्यक छ ।
अब समाजले एउटा स्पष्ट सन्देश दिनुपर्छ, सुधारको बाटो आन्दोलन हो, उच्छृङ्खलता होइन। भ्रष्टाचार नियन्त्रण, राजनीतिक स्थायित्व र सुशासन स्थापनाका मागलाई राज्यले गम्भीरतापूर्वक सम्बोधन गर्नुपर्छ। तर त्यससँगै आगजनी, लुटपाट र तोडफोडमा संलग्नहरूलाई कानूनी कारबाही गरिनुपर्छ। अपराधलाई आन्दोलनसँग मिलाएर हेर्ने गल्ती नगरौं।
हामी सबैले बुझ्नुपर्छ,देश जलाएर होइन, निर्माण गरेर मात्र परिवर्तन सम्भव छ। अस्थिरताको खरानीमाथि कुनै पनि सभ्य समाज उभिन सक्दैन। आक्रोशलाई विवेकले, असन्तोषलाई विचारले र अस्थिरतालाई जिम्मेवार नेतृत्वले मात्र जित्न सकिन्छ। आजको आवश्यकता यही हो, प्रेरणादायी परिवर्तन, विनाशकारी प्रतिशोध होइन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित