सार्थक ब्यूरो । चाडपर्व नजिकिँदै गर्दा कञ्चनपुरको पश्चिमी सीमा नाका गड्डाचौकीमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले आइतबार भारत–नेपाल सीमामा अवस्थित ७ नम्बर पिल्लर नजिक सहायता कक्ष सञ्चालनमा ल्याएको हो ।
जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक खडकबहादुर खत्रीका अनुसार, दसैँ, तिहार र छठ पर्वका लागि भारतबाट स्वदेश फर्कने नागरिकलाई सुरक्षासहित सहज सुविधा प्रदान गर्न यो कक्ष स्थापना गरिएको हो ।
यसअघि जिल्ला सुरक्षा समितिको बैठकले गड्डाचौकी सीमा क्षेत्र र महेन्द्रनगर बसपार्कमा संयुक्त रूपमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलमार्फत यात्रु सहायता कक्ष सञ्चालन गर्ने निर्णय गरेको थियो । सो निर्णयअनुसार गड्डाचौकीमा सहायता कक्ष सुरु गरिएको खत्रीले जानकारी दिए ।
सहायता कक्षको उद्घाटन प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकाल, प्रदेश प्रहरी कार्यालय धनगढीका प्रहरी प्रमुख डम्मरबहादुर बिकलगायतको उपस्थितिमा गरिएको हो । प्रहरी प्रशासनका अनुसार, नाकामा यात्रुको भीड बढ्ने भएकाले चोरी, ठगी, दुर्घटना र अन्य आपराधिक गतिविधि नियन्त्रण गर्न सडक गस्ती पनि कडाइ गरिएको छ ।
यसबीच, भारतमा रोजगार र व्यवसायका लागि गएका नेपालीहरू दशैँ, तिहार र छठ पर्व मनाउन स्वदेश फर्कन थालेसँगै गड्डाचौकी नाकामा यात्रुको चहलपहल तीव्र बनेको छ । दैनिक हजारौँको संख्यामा स्वदेश फर्कने भीडका कारण सीमा क्षेत्रमा निकै रौनक बढेको प्रहरीले जनाएको छ ।








Discussion about this post