सार्थक ब्यूरो ।कञ्चनपुर सामान्यतया सुगम जिल्ला भनेर परिचित छ, तर यही जिल्लाको उत्तरतर्फको ‘खल्ला मसेट्टी’ गाउँ भने अझै पनि दुर्गम बस्ती सरह जीवन बिताइरहेको छ । सदरमुकाम महेन्द्रनगरदेखि करिब २० किलोमिटर दूरीमा भए पनि यहाँ पुग्न जोखिमपूर्ण कच्ची बाटो पार गर्नुपर्छ । पक्की सडक, स्वास्थ्य, शिक्षा, खानेपानी र विद्युत् जस्ता आधारभूत सुविधाको अभावले यहाँको जनजीवन कष्टकर बनेको छ ।
डडेल्धुराको जोगबुढाबाट विसं २०६५ सालतिर बसाइँ सरेका लोकबहादुर थापा मगरका अनुसार, सडक नभएकै कारण विद्यालय जानु वा बिरामीलाई उपचारका लागि लैजानु निकै कठिन हुन्छ । “बालबालिकाले दुई घण्टा पैदल हिँडेर मात्रै विद्यालय पुग्छन् । बिरामी हुँदा त झन् समस्या दोब्बर हुन्छ,” उनले बताए ।
सुविधायुक्त सडक ब्रह्मदेवसम्म मात्र पुग्छ, त्यसपछि भने पैदल वा जोखिमपूर्ण बाटोमै निर्भर रहनुपर्छ । स्थानीय लीला पुन मगरका अनुसार वर्षातमा बाटो नै अवरुद्ध हुँदा बिरामीलाई बोकेर लैजानुपर्ने अवस्था आउँछ । “यहाँ विजुली छैन, खानेपानीको योजना त आएको पाँच वर्ष भइसक्यो तर अझै अधुरो छ,” उनले गुनासो पोखिन् ।
करीब ६ सय जनसंख्या रहेको बस्तीमा आधारभूत तहको विद्यालयबाहेक अन्य शैक्षिक सुविधा छैन । माध्यमिक तहसम्मको विद्यालय नभएकाले धेरै बालबालिकाले पढाइ अधुरै छाडेर भारततिर जाने गरेका छन् । ब्रह्मदेवसम्म आठ किलोमिटर पैदल यात्रा गरेर मात्र उच्च कक्षा पढ्न सकिन्छ ।
स्वास्थ्य सेवाको अवस्था अझ कठिन छ । यहाँ न त स्वास्थ्य चौकी छ, न त एम्बुलेन्स जान सक्ने बाटो । “कयौँ पटक बिरामीलाई काँधमा बोकेरै ब्रह्मदेव बजार पुर्याउनुपरेको छ,” स्थानीय धनगिरी चुनाराले बताए ।
खानेपानी र सिँचाइ अभावले खेतीपातीमा समेत समस्या परेको छ । वडाको कार्यालयसमेत ब्रह्मदेवमा भएकाले सिफारिसजस्ता सामान्य सेवाका लागि पनि दुई घण्टा पैदल हिँड्नुपर्ने बाध्यता रहेको रेखा विकले बताइन् । “गाउँगाउँमा सिंहदरबार आयो भनिन्छ, तर हामी अझै आधारभूत सेवामै वञ्चित छौँ,” उनले भनिन् ।







Discussion about this post